Logo

मुख्य समाचार

मन्त्री आलेद्वारा न्यायाधीशमाथि मुद्दामा सेटिङ गरेको गम्भीर आरोप, मानहानीमा पर्लान् ?


GDP Nepal
   २१ चैत्र २०७८, सोमबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बतास समूहले अदालतमा सेटिंग मिलाएर पशुपति धर्मशाला कब्जामा राखेको आरोप लगाएका छन् ।

ग्यालेक्सी ४ के टेलिभिजनसँगको संवादमा उनले यस्तो आरोप लगाएका हुन् ।

मन्त्री आलेले उच्च अदालत पाटनले चैत १७ गते गरेको फैसला आफूहरूलाई चैत २० गते ३ बजे मात्र प्राप्त भएकोले अदालत समेत बताससँग मिलेको र सेटिङको आशंका गर्न सक्ने ठाउँ देखिएको अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्, “आज अचानक ३ बजे पत्र आउँदा सम्मानित अदालत समेत प्रभावित होला भनेर कल्पना समेत त म गर्न सक्दिन तर यो आदेश आउँदा मलाई एकदमै दुख लागेको छ ।”

पत्रकारले त्यसपछि सोधेको ‘त्यो आदेश आउँदा तपाइलाई त्यसले अगाडी बढ्न वा (धर्मशाला) बन्द गर्न दिएन हो ?’ भन्ने प्रश्नमा उनले थप खुलेर जवाफ दिँदै भनेका छन्, “आज ३ बजे मात्र हामीलाई पत्र बुझाइयो। यो पनि सेटिङमा नै भएको जस्तो मलाई लाग्छ ।”

अदालतलाई लाञ्छना लगाउँदै उनले थप प्रश्न गरेका छन् । “किन १० बजे ल्याउनुपर्ने पत्र ३ बजे मात्र हामीकहाँ आइपुग्यो ?”

अदालतमा विचाराधीन मुद्दामा छलफलमा जाने अघिल्लो दिन उनले अदालतलाई नै यस्तो गम्भीर आरोप लगाएपछि अब मन्त्री आले अदालतको अवहेलनमा पर्ने देखिएको छ ।

अदालतको छलफललाई प्रभावित पार्ने उद्देश्यले अघिल्लो साँझ मन्त्रीले दिएको अभिव्यक्तिलाई कानुन व्यवसायीहरूले समेत मन्त्रीको अमर्यादित र अदालतको अपहेलन गर्ने अभिव्यक्ति भन्ने टिप्पणी गरेका छन् ।

तर, जिम्मेवार मन्त्रीले कुनै सुइँको नपाई वा तथ्य प्रमाण बिना अवश्य पनि यस्तो अभिव्यक्ति दिएका होइनन् भन्ने अनुमान गर्न सकिन्छ ।

स्वयम् अदालतले भने यो कुरालाई ध्यानमा राख्छ वा राख्दैन त्यो भने आज २१ गते हुने छलफलले नै स्पष्ट पार्ने छ । तर, एक जिम्मेवार मन्त्रीले स्थापित टेलिभिजनबाट उच्च अदालत पाटनलाई लगाएको यस्तो आरोपले अदालतको मानहानी गरेको स्पष्ट हुन्छ ।

एक कानुन व्यवसायी भन्छन्, “बहालवाला मन्त्रीले लगाएको यस्तो गम्भीर आरोपमा अदालतले मौनता साँध्यो भने अब बुझे हुन्छ यो मुलुकमा कुनै तहका अदालत चोखा र भरपर्दा छैनन् ।”

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह