Logo

अर्थनीति

होटल संघ र मजदुर युनियनबीच सहमतिः न्यूनतम पारिश्रमिक लागू गरिने


GDP Nepal
   ६ बैशाख २०७९, मंगलबार


काठमाडौं । होटल सञ्चालक र मजदुर युनियनका प्रतिनिधिहरुले कोभिड महामारीका बेला दुवै पक्षबीच भएको सम्झौताका विषयमा कुनै विवाद नगर्ने सहमति गरेका छन् ।

होटल संघ र मजदुर युनियनहरुबीच सोमबार भएको पाँच बुँदे सम्झौतामा सञ्चालनमा आएका होटलहरुका लागि २०७६ चैत ११ गतेभन्दा अगाडि श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलब भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने उल्लेख छ ।

होटल संघ नेपाल र तीन मजदुर युनियनबीच २०७७ असार २८ र माघ १३ गते सम्झौता भएको थियो । जसमा कोभिड महामारीले होटल बन्द रहे पनि श्रमिकलाई होटल व्यवस्थापनका तर्फबाट तहअनुसार मासिक पारिश्रमिक दिने सहमति थियो ।

संघ र युनियनहरुको सोमबार काठमाडौंमा भएको बैठकले उक्त सम्झौता तात्कालीन परिस्थिति र समय अनुसार मनासिव रहेको तथा सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने सहमति गरेका छन् ।

यस्तै, कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने सम्झौता उल्लेख छ ।

होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिने जनाइएको छ ।

भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुवाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिने सहमति बैठकले गरेको छ ।

सहमति अनुसार लकडाउनको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिने जनाइएको छ ।

सोमबार होटल संघ नेपालका अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनको बैठकले यस्तो सहमति गरेको हो ।

मजदुर युनियनका तर्फबाट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघका अध्यक्ष र प्रतिनिधिहरु बैठकमा सहभागी थिए ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह