Logo

मुख्य समाचार

भारतले बनाइदिएको भवनमा एमाले कार्यालय, तुल्सीलालको नाउँमा बजेट दुरुपयोग !


GDP Nepal
   ९ बैशाख २०७९, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय कार्यालय शुक्रबारदेखि ललितपुरको बालकुमारीस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा सर्दैछ । करिब एक वर्षअघि धुम्बाराहीबाट थापाथली सरेको एमाले कार्यालय ललितपुरमा सर्न लागेको हो ।

नेकपा एमालेले यसअघि पनि पार्टीका बैठक र कार्यक्रम तुल्सीलाल प्रतिष्ठानबाटै गर्दै आएको थियो । यसअघि भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्किएपछि एमाले धुम्बाराहीमा रहेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा सरेको थियो ।

सोही भवनमा रहँदै गर्दा एमाले र माओवादीबीच एकीकरण भइ नेकपा बनेसँगै नेकपाको मूल कार्यालयका रुपमा धुम्बाराही रहेको थियो । तर, नेकपा विभाजनपछि उक्त भवनमा एमाले कार्यालय रह्यो र केही महिनामै एमालेका पूर्व राज्यमन्त्री उद्योगी मोतिलाल दुगडले खोजेको राजेश अग्रवाल नाउँका व्यापारीको थापाथलीस्थित घरमा सरेको थियो ।

एमालेको मुख्य कार्यालय धुम्बाराहीमा रहँदा जुन विवाद रहेको थियो सोही विवाद बालकुमारीको कार्यालयमा पनि हुने देखिएको छ । नेकपा संस्थापक तुल्सीलाल अमात्यको नाउँमा खोलिएको प्रतिष्ठानको जग्गा र भवन दुवै सरकारी लगानीमा बनेका हुन् ।

प्रतिष्ठान आफैंले पनि सरकारी बजेटबाटै पूर्वाधार निर्माण गरिएको स्वीकार गरेको छ । जसमा भारत सरकारको समेत लगानी रहेको छ ।

भारत सरकार र ललितपुर महानगरपालिकाको अनुदान सहयोगमा निर्माण गरिएको तुलसीलाल बहुउद्देश्यीय तालिम भवन र नेपाल सरकारको अनुदान सहयोगमा निर्माण भएको दुई तले भवन फाउण्डेशनको स्वामित्वमा रहेको वेबसाइटमा जनाइएको छ ।

फाउन्डेसनको तेस्रो तल्लामा अत्याधुनिक सेमिनार हल निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।

“फाउन्डेसनको उद्देश्य पूरा गर्न भवन निर्माण र विभिन्न गतिविधि सञ्चालन गर्न नेपाल सरकारले फाउण्डेशनलाई १३ रोपनी (०.६६ हेक्टर) जग्गा उपलब्ध गराएको उल्लेख छ,” फाउन्डेसनको वेबसाइटमा भनिएको छ ।

यसअघि फाउन्डेसनको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यालय विभाग र परराष्ट्र विभाग राखिएको जनाइएको छ ।

नेपालमा कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको अध्ययन र अनुसन्धान केन्द्र तथा नेपालमा कृषि तथा सहकारी आन्दोलनको अध्ययन र अनुसन्धान केन्द्र रहेको भनिएको सो प्रतिष्ठानलाई सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ ।

तुलसीलाल मेमोरियल फाउन्डेसन नेपाल सरकार र नेपाल समाज कल्याण परिषदमा दर्ता भएको गैर–नाफामुखी संस्था भनिए पनि एमालेलाई भाडामा कार्यालय लगाएर नाफामुखी संस्था बनाउन खोजिएको भन्दै आलोचना समेत भइरहेको छ ।

प्रतिष्ठानको अध्यक्षमा एमाले नेता गोपाल शाक्य रहेका छन् भने संरक्षकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन् । उनी भने हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुन् ।

प्रतिष्ठानको उपाध्यक्षमा माधव पौडेल र कृष्णलाल महर्जन, महासचिवमा हिमबहादुर क्षेत्री, सचिवमा सुमित्रा अमात्य, कोषाध्यक्षमा मिठाराम शर्मा बजगाईँ, सहकोषाध्यक्षमा बाबुराम थापा तथा सदस्यहरुमा बंशीधर मिश्र, सुजीता शाक्य, गरिमा शाह, हरिकृष्ण व्यञ्जनकार, तारामान जोशी, राजेन्द्र व्यञ्जनकार, नरेश्वर ज्ञवाली, अष्टमान महर्जन, सुरेन्द्रमोहन शर्मा, चन्द्रमणि अधिकारी र प्रतिभा श्रेष्ठ रहेका छन् ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह