Logo

मुख्य समाचार

निर्वाचनको मुखैमा ठेकेदारहरुद्वारा विकास निर्माणका काम ठप्प


GDP Nepal
   ११ बैशाख २०७९, आइतबार


काठमाडौं । मुलुकमा स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढिरहेकै बेला नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माणको काम ठप्प पारेको छ ।

महासंघको आयाृेजनामा आइतबारदेखि ‘कन्स्ट्रक्शन होलिडे’ सुरु भएको छ । निर्माण सामाग्रीहरुमा भएको मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई ‘कन्स्ट्रक्शन होलिडे’ भन्दै निर्माण ठप्प पारिएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गरिएको बताए ।

कन्स्ट्रक्शन होलिडे’ को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने अध्यक्ष सिंहले बताउनुभयो । महासंघले पत्रकार सम्मेलन मार्फत् आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्र्तगत ७७ जिल्ला संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा वैशाख १३ गते देखि प्रत्येक दिन बिहान ११ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

पछिल्लो समयमा निर्माण सामाग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनका केही बुँदा लगायतका कारणले निर्माण उद्योग धराशायी भएको अध्यक्ष सिंहको भनाइ छ ।

निर्माण उद्योगमा आबद्ध १७ हजार भन्दा बढी व्यवसायीहरू पेशाबाटै पलायन हुने स्थिति देखापरिसकेको र उनीहरूमा आश्रित लाखौंं परिवारको भविष्य अन्यौलमा परेको पनि महासंघको भनाइ छ ।

निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा अत्यन्त नकारात्मक असर परेको बारे प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू लगायत सरोकारवाला सबैको समयमै ध्यानाकर्षण गराई माग पूरा गर्ने समयसीमा दिँदा समेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ ।

अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह