Logo

अर्थनीति

अर्थमन्त्रीसँग व्यवसायी आक्रोशित, अपमान गरेको गुनासो


GDP Nepal
   १९ बैशाख २०७९, सोमबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सोमबार बिहान नेपाल उद्योग वाणिज्य महासंघसँग पूर्व बजेट अन्तक्र्रिया गरे । निजी क्षेत्रको छाता संगठन महासंघको कार्यक्रममा अर्थमन्त्रीले झन्डै २ घन्टा बिताए पनि उनको प्रस्तुती भने व्यवसायीले रुचाएनन् ।

अर्थमन्त्रीलाई महासंघको तर्फबाट कर तथा राजस्व समितिका सभापति सन्दीप अग्रवालले विभिन्न क्षेत्रगत समस्या र समाधानको उपायसहित प्रस्तुती दिए । सोही प्रस्तुतीसहितको महासंघको विस्तृत सुझाव अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री शर्मालाई बुझाए ।

अर्थमन्त्रीले व्यवसायीको गुनासो सुनेपछि दिएको मन्तव्यका क्रममा भने आफूहरुको अपमान गरेको महासंघका केही पदाधिकारी तथा सदस्यहरुले गुनासो गरे । अर्थमन्त्रीले सम्बोधनका क्रममा महासंघको सुझाव ठूलो भएको र आफूलाई पढ्ने फुर्सद नभएको उल्लेख गरेका थिए ।

महासंघले अर्थमन्त्रीलाई कूल ५० पृष्ठको सुझाव पेश गरेको थियो ।

अर्थमन्त्रीको उक्त प्रस्तुतिप्रति निजी क्षेत्रका प्रतिनिधिहरुले गुनासो गरे । “महासंघले त्यतिधेरै छलफल र मेहनत गरेर तयार पारेको सुझावलाई अर्थमन्त्रीले ठाडै लत्याइदिनुभयो,” महासंघका एक सदस्यले भने, “अर्थमन्त्रीमा कुनै गम्भीरता नदेखिनु दुर्भाग्यपूर्ण छ ।”

महासंघकै अर्का सदस्यले पनि अर्थमन्त्रीको रवैया चित्तबुझ्दो नभएको धारणा राखे । उनले भने, “हाम्रा सुझाव अर्थमन्त्री आफैंले सबै पढ्नुपर्ने पनि होइन, सुरुमै पन्छाएर उहाँले के सन्देश दिनुभएको हो, हामीले बुझ्न सकेनौं ।”

अर्थमन्त्रीले फ्लोरबाट आएका व्यवसायीका समस्यालाई पनि धैर्यतापूर्वक सुन्न नसकेको र बिचमै हस्तक्षेप गरेको भन्दै महासंघको एक समिति सभापतिले गुनासो गरे । कार्यक्रम लगत्तै सञ्चारकर्मीहरुसँग उनले भने, “अर्थमन्त्रीले हाम्रा सबै कुरा सुनेजस्तो गर्नुभयो तर केही पनि सुन्नुभएन भन्ने यहिँबाट देखिन्छ ।”

यद्यपि, अर्थमन्त्रीले व्यवसायीहरुका सबै माग पूरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि संक्षिप्त सुझाव पेश गर्न सम्बोधनका क्रममा आग्रह गरेका थिए ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह