Logo

Sub-banner

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो


GDP नेपाल
   ८ कार्तिक २०७९, मंगलबार


भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नुपर्नेछ ।

रु एक अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक–गोन्द्राङ सडक छ लेनको हुनेछ । सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र हुनेछ भने सडकको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन रहने छ ।

साथै तीनदेखि चार मिटरको फुटपाथ हुनेछ भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक हुनेछ । पुल्चोकबाट लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म फरक–फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार गोन्द्राङबाट चौबीसकोठीसम्म एक्सप्रेस वे (बीचको द्रुतमार्ग)को काम भइरहेको छ । एक्सप्रेस वेमा बेस र सवबेसको काम भइरहेको छ । उक्त काम सकिएपछि पहिलो तहको काम सुरु हुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर चण्डेश्वर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोन्द्राङबाट केन्द्रीय बस टर्मिनलसम्म भने पहिलो तहको काम हाल सम्पन्न भइसकेको छ । उक्त खण्डमा दोस्रो र तेस्रो तह एवं ढलको काम हुन बाँकी छ । केही दिनमै बसपार्कबाट चौबीसकोठीसम्म पहिलो तहको काम पनि सुरु हुनेछ । छेउको बाटो (सर्भिस लेन)मा भने गोन्द्राङबाट चौबिसकोठीसम्म पहिलो तहको काम सम्पन्न भइसकेको छ ।

एक्सप्रेस वेमा उच्चस्तरको बेस (डिभिएम)को पहिलो तहको काम सकिएपछि सर्भिस लेनमा दोस्रो र तेस्रो तहको काम सु्रु हुने उहाँले जानकारी दिनुभयो । त्यसपछि एक्सप्रेस वेमा पनि दोस्रो र तेस्रो तहको काम हुनेछ ।

तिहारपछि चौबीसकोठीबाट पुल्चोकसम्मको काम पनि सुरु गरिने शाहले बताउनुभयो । उक्त खण्डमा बिजुली पोल, खानेपानीको पाइपको काम तथा केही संरचना भत्काउन पर्नेछ । हाल खानेपानीको पाइप हटाउनका लागि खानेपानी कार्यालयले बोलपत्र आह्वान गरिसकेको छ भने बिजुलीको पोल हटाउनका लागि विद्युत् कार्यालयसँग पनि समन्वय भइरहेको इञ्जीनियर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहको निर्वाचन तथा विभिन्न चाडपर्वका कारण कामले तीव्रता लिन सकेको थिएन । त्यसमाथि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पनि काम प्रभावित हुनसक्ने उहाँको भनाइ छ ।

सम्झौता मिति सकिन चार महिनामात्रै बाँकी रहे पनि निर्माण कम्पनीले भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने दाबीसमेत गरेको छ ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह