Logo

कर्पोरेट-बजार

वर्ल्डलिंकमा ब्रिटिस इन्भेष्टमेन्ट र डोल्मा फण्डको दुई अर्ब लगानी !


GDP Nepal
   ६ चैत्र २०७९, सोमबार


काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा दुई संस्थाले २ अर्ब लगानी गर्ने भएका छन् । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वर्ल्डलिंकमा १ अर्ब ९८ करोड संयुक्त लगानी गर्ने भएका हुन् । वर्ल्डलिंक मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)ले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्नेछ भने डोल्मा इम्प्याक्ट फण्डले ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी गर्ने जनाइएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार यो इन्टरनेट क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हो ।

वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट यसअघि सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको लगानी कम्पनीले भित्र्याइसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको जनाएको छ । वर्ल्डलिंकले देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि भएको दावी गरेको छ । कम्पनीमा हाल ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले जानकारी दिए । “हाम्रा लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा हामी प्रतिवद्ध छौं,” उनले भने, “यस क्षेत्रमा हाम्रो २७ वर्षको हाम्रो समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम पनि यो लगानी हो भन्ने विश्वास रहेको छ ।”

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको उनको भनाइ छ । यसले अन्य कम्पनीलाई पनि प्रेरित गरेर रोल मोडल बनाउन नेतृत्व अध्यक्ष अग्रवालले बताए । “यो साझेदारीले जुनसुकै बेला र जहाँ पनि जडान गर्ने हाम्रो उद्देश्यलाई अभिप्रेरित गरेको छ र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको छ,” उनले भने ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको जनाएका छन् ।

कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको जनाइएको छ । साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । धेरै हजार किलोमिटर फाइबर विछ्याएर यो हासिल गरिएको कम्पनीको भनाइ छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरुलाई गति दिने अध्यक्ष अग्रवालले बताए । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने तथा गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्ने उनको भनाइ छ ।

कार्यक्रममा व्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्राविधि र टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले वर्ल्डलिंकका अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनीको सेवा विस्तार र प्रभावबाट प्रभावित भइरहेको बर्ता । आफूहरुले सन् २०१९ देखि कम्पनीमा लगानी गरेसँगै उनीहरुले हजारौं घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेको उनले बताए । “हाम्रो दोस्रो लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्नेछ,” उनले भने ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वर्ल्डलिंकलाई गरेको सहयोग र सहकार्यले आफू गौरवान्वित भएको बताइन् । “नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्तरण एक प्रमुख कारक हो र यस क्षेत्रका घर परिवार र व्यवसावहरुलाई समर्थन गर्नेजस्ता लगानीहरु महत्वपूर्ण छन्,” उनले भनिन् ।

डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईका अनुसार छोटो अवधिको आर्थिक फड्को मार्ने नेपालको सबैभन्दा राम्रो मौका भनेको डिजिटल उद्योग नै हो । आफूहरुले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको उल्लेख गर्दै उनले एआई सेवाहरुमा मात्र ५ हजारभन्दा बढी नेपालको लागि गुणस्तरीय रोजगारी रहेको बताए । “तर यी कामहरु मुख्यतया सहरी क्षेत्रहरुमा सीमित छन्, जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ, वर्ल्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउनेछ,” उनले भने, “जसले गर्दा स्वास्थ्य, शिक्षा, वित्तिय र व्यापारदेखि व्यापार सेवाहरुमा राम्रो पहुँचका साथै विश्वव्यापी डिजिटल अर्थतन्त्रमा व्यापक सहभागिता हुनेछ ।”

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह