Logo

कर्पोरेट-बजार

महासंघका नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता, ब्याजदर घटाउनु पर्नेमा जोड


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ ।

बुधबार नेपाल राष्ट्र बैंक बालुवाटारमा गरिएको उक्त भेटवार्तामा महासंघका अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए ।

उनले बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको बताए । केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए ।

यसैगरी निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराए ।

साथै गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसंगको सहकार्य नेपाल राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको बताएका छन् । भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह