नेपाल फ्रेट फरवार्डरस् एशोसियशन (नेफा) का अध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य मनोज अधिकारीले लजेष्टिक व्यापारमा देखिएको मूख्य समस्या टिडीएसको विषय भएको बताएका छन् । अधिकारीले टिडीएसको समस्यालाई हल गर्न नेपाल उद्योग वाणिज्य महासंघले पहल कदमी चाल्नुपर्ने बताएका हुन् ।
कार्गो व्यवसायीहरुको छाता संगठन नेपाल फ्रेट फरवार्डरस् एशोसियशन (नेफा)ले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवं वस्तुगत तर्फका केन्द्रिय सदस्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा अधिकारीले सो कुरा बताएका हुन् ।
यस्तै, कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि टिडीएसका कारण आफूहरुले लजेष्टिक व्यापारमा ठूलो समस्या भोग्दै आएका कारण महासंघले उचित पहल थाल्नुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो व्यवसायको शुरुवात पनि यही कार्गो व्यापारबाट भएको स्मरण गर्दै यस क्षेत्रले भोगेका समस्या र चुनौतीका विषयमा आफू पूर्ण जानकार रहेको बताए । उनले यस क्षेत्रमा आइपरेका समस्यालाई आपसी छलफल र समन्वयनका आधारमा हल गर्न विभिन्न पहल कदमी अगाडी बढाउने बताए ।
यस्तै, सरकार बजेट बनाउने तयारीमा रहेकाले लजेष्टिक व्यवसायीले उठान गरेका टिडीएस लगाएतका यस क्षेत्रसँग सम्बन्धित विविध समस्याहरुका विषयमा आफूले लविङ र पैरवी गर्ने अध्यक्ष ढकालले जनाए ।
सो सम्मान तथा बधाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कार्गो ढुवानी व्यवसाय कोभिडको महामारीका कारण समस्या ग्रस्त हुन पुगेको बताए ।
“लजेष्टिक लागत अत्यन्त महंगो छ जसका कारण आज मुद्रास्फितीले यसलाई असर गरेको छ । यसलाई कसरी घटाउन सकिन्छ छलफल गर्नुपर्छ “, उनले भने ।
त्यस्तै, यो बीचमा साना तथा मझौला व्यवसायीहरु सबै भन्दा धेरै मारमा परेको श्रेष्ठले बताए । उनले व्यापार व्यवसायीहरुले भोग्दै आएको टिडीएस लगाएतको विषयलाई महासंघले आउँदो बजेटमा गम्भीरताका साथ उठान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष ढाकाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित जिल्ला तथा उद्योग नगर वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसीएट उपाध्यक्ष जोत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र वस्तुगत संघका तर्फबाट निर्वाचित कार्यसमिति सदस्यहरुलाई नेपाल फ्रेट फरवार्डरस् एशोसियशनका अध्यक्ष अधिकारी एवं पूर्व अध्यक्षहरुले खादाँ तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया