एमडीएमएस लागू भएकै कारण मोबाइल फोनको मूल्य नबढ्ने व्यवसायीहरुको स्पष्टोक्ति
काठमाडौं । नेपालमा भन्सार नतिरेका करिब १५ अर्ब रुपैयाँ बराबरका मोबाइल सेटहरु चलनचल्तीमा रहेको व्यवसायीहरुले दावी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार मोबाइल फोनमा अवैध आयातबाट सरकारले बर्सेनि ४ अर्ब राजस्व गुमाउँदै आएको छ ।
नेपाल भित्रिने फोनहरुमध्य केही चोरीका, केही रिफर्विस पर्ने तर उपभोक्ताले वैधानिक र अवैधानिक छुटाउन नसक्दा त्यस्ता फोनहरुको पनि वैधानिक सरह मूल्य तिर्दै उपभोक्ता ठगिँदै आएका छन् । बिक्री पछि पाटपुर्जा नपाउने जस्ता समस्याले उपभोक्ता ठगिँदै आएको कार्यक्रममा बताइयो ।
मोबाइल फोन इम्पोर्टस एशोसिएसन र नेपाल मोबाइल बितरक संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा एमडीएमएसको पूर्ण रुपमा प्रभावकारी कार्यान्वयन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
अवैध रुपमा आयातित फोनबाट नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा समस्या हुने गरेको छ भने सरकारलाई कर तिरेर व्यवसाय गर्दै आएका व्यापारीको व्यापार कम हुँदै जाने अनि ज्यादै कम मार्जिनमा काम गर्नुपर्दा पलायन हुन थालेका छन् ।
यसरी भन्सार नतिरी भित्रिने फोनहरु आयात तथा विक्रीलाई नियन्त्रण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले लामो गृहकार्य पछि नेपाल सरकारको निर्णयअनुसार जेठ एक गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरे पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।
। यो सिस्टम लागू भएपछि नेपाल दुरसञ्चार प्राधिकरणमा दर्ता नभएका फोनहरु नचल्ने भएकोले अनाधिकृत रुपमा भित्रिने फोनहरुमा नेपाली सिम नचल्ने मा सरकारले विदेशबाट नेपाल आउनेहरुका लागि दुईवटा फोन निशुल्क एमडिएमएसमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदा सरकारले वार्षिक तीनदेखि चार अर्व रुपियाँ बराबर थप राजस्व बढाउन सक्ने तथा चोरीका, रिफर्बिस अनि कम गुणस्तरका फोनहरु नभित्रने हुँदा उपभोक्ता ठगिनु नपर्ने व्यवसायीहरुको भनाइ छ ।
एमडिएमएस लागू हुँदा हरेक आइएमइआई प्रयोगकर्ताको विवरण नेपाल दुरसञ्चार प्राधिकरणसँग हुनेहुँदा नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ ।
यस्तै, एमडिएमएस लागू भएपछि फोनको मूल्य वृद्धि हुन्छ कि भन्ने जिज्ञासा रहेकोमा मोबाईल फोन उत्पादक कम्पनीले सन्सारभरि फोनको मूल्य र व्यापारीको मार्जिन आफै निर्धारण गर्नेहुँदा यो सिस्टम लागू भएपछि मोबाइल फोनको मूल्य नबढ्ने व्यवसायीहरुले बताए ।
नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न एंव चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ तथा ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडिएमएस) सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया