Logo

Banner-news

बिजुलीको आन्तरिक खपतका लागि कार्ययोजना तयार भएको छ : ऊर्जामन्त्री बस्नेत


GDP नेपाल
   ७ असार २०८०, बिहिबार


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाम्रो आवश्यकता र स्रोतको बीचमा ठूलो खाडल रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले सरोकारवाला निकायका बीचको समन्वय अभावका कारण पनि अपेक्षित प्रगति हासिल गर्न कठिनाइ रहेको बताउनुभयो ।

उहाँले आवश्यकता र स्रोतबीच रहेको अन्तरका कारण पनि अपेक्षित प्रगति हासिल गर्न कतिपय अवस्थामा कठिनाइ भएको बताउनुभयो । मन्त्री बस्नेतले बिजुलीको आन्तरिक खपत बढाउनका लागि सरकारले योजनाबद्ध प्रयास गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक खपत वृद्धिका लागि मन्त्रिपरिषद्बाट कार्यायोजना स्वीकृत गर्दछाँै । कार्ययोजना तयार भइसकेको छ ।” उहाँले बढी भएको बिजुलीमात्रै भारतलाई बिक्री गरिने बताउनुभयो । सम्भाव्यता अध्ययन पूरा भएका आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको समेत उहाँको भनाइ छ । एकीकृत योजनासहित अगाडि बढ्ने सोचमा मन्त्रालय रहेको मन्त्री बस्नेतको कथन छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वर्षअघि ६० प्रतिशत घरधुरीमा बिजुली पुगेको उल्लेख गर्दै हाल ९५ प्रतिशत घरधुरीमा बिजुली पुगेको जानकारी दिनुभयो । विद्युतीय पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट नभएको उल्लेख गर्दै उहाँले प्राधिकरणले गरेको लगानीको पनि प्रभावकारी प्रतिफल देखापरेको स्पष्ट पार्नुभयो ।

उहाँले देशभरका काठका पोल विस्थापन गर्न तथा जीर्ण पोलको सट्टामा नयाँ राख्नमात्रै पनि रु ५० अर्ब बराबरको बजेट आवश्यक भएको बताउनुभयो । प्राधिकरणका तर्फबाट गर्न सकिने कामलाई द्रुतगतिमा अगाडि बढाइएको जानकारी दिँदै उहाँले उपभोक्ताका तर्फबाट प्राप्त हुने गुनासोलाई पनि कार्यविधि बनाएर सम्बोधन गरिएको छ भन्नुभयो । कार्यकारी निर्देशक घिसिङले सहरी क्षेत्रमा तार भूमिगत गर्न कठिनाइ रहेको र त्यसमा सबै सरकारी निकायको समन्वय जरुरी रहेको बताउनुभयो ।

बैठकमा सांसदहरू उर्मिला माझी, गोकर्ण विष्ट, कल्पना चौधरी र प्रेमबहादुर महर्जनलगायतले मन्त्रालयका गतिविधि र काम कारबाहीका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह