सोनापुर मिनरल्स एन्ड आयल लिमिडेडले आजदेखि प्रिमियममा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आइपीओ बिक्री खुला गरेको हो ।
जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
यसमा दाङ र रोल्पा जिल्लाका उद्योग प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया