Logo

Banner-news

भियतनामी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेशः प्रधानमन्त्री, सभामुख र ओलीसँग भेट


GDP Nepal
   १ भाद्र २०८०, शुक्रबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ सरकारी अधिकारीहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।

राजदूत न्गुयेनले प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटघाट गरेका हुन् ।

राजदूत न्गुयेनले नयाँ दिल्लीस्थित दूतावासमार्फत नेपालका लागि भियतनामी राजदूतको जिम्मेवारी सम्हालिरहेका छन् ।

भेटमा राजदूत न्गुयेनले नेपाल र भियतनामबीच सिधा हवाई उडानसहित व्यापार तथा लगानी प्रवर्द्धनका निमित्त सहकार्य गर्ने प्रस्ताव राखेका थिए । उनले सिधा हवाई उडानमार्फत नेपाल भ्रमण गर्न इच्छुक बुद्धमार्गी भियतनामीहरुलाई सहज हुने र नेपाली नागरिकले पनि अष्ट्रेलिया तथा युरोपको ट्राञ्जिट सुविधा पाउने धारणा राखेको जनाइएको छ ।

राजदूत न्गुयेनले भियतनाम भ्रमण गर्न इच्छुक नेपालीहरुका लागि काठमाडौंस्थित कन्सुलर कार्यालयबाटै भिसा जारी गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराएका छन् । दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको भन्दै यसको समाधानका लागि दुवै मुलुकको पहलकदमी जरुरी रहेको उनको भनाइ छ ।

राजदूत न्गुयेनसँगको भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री दाहाल लगायतले भियतनामको तीव्र आर्थिक विकासबाट नेपाल प्रभावित रहेको उल्लेख गर्दै नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका निमित्त सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

भेटमा सहभागी भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरण र पर्यटन प्रवर्द्धनका निमित्त सिधा हवाई उडानको तयारी गर्ने र ई–भिसा लागू गर्नेसम्बन्धी विषयमा दुवै मुलुकका अधिकारीहरुबीच साझा धारणा बनेको छच ।

भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन नेपाली पक्षले राजदूतसमक्ष आग्रह गरेको थियो ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह