Logo

अर्थनीति

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख: अर्थमन्त्री महत


GDP नेपाल
   १८ भाद्र २०८०, सोमबार


अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताउनुभएको छ । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताउनुभयो । 

नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उहाँले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिनुभयो । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उहाँले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा महतले पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गले बढाउने बताउनुभयो । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उहाँले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र सङ्घीय सरकारले ध्यान दिएको बताउनुभयोे । पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको बताउँदै उहाँले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रुपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताउनुभयो । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उहाँले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, महासचिव सञ्जयकान्त सिग्देल, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा परिषद्का गतिविधिमा विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । 

प्रकाशित : १८ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह