Logo

कृषि / सहकारी

व्यवसायी काँक्रा खेतीमा पात्लेका किसान, एउटै टोलबाट १० लाखको बिक्री


GDP नेपाल
   २८ भाद्र २०८०, बिहिबार


रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान् तामाङले गत वर्ष डेढ लाख बढीको स्थानीय जातको काँक्रा बेचे ।

श्रीमान्ले मात्र होइन प्रेमबहादुर तामाङले पनि डेढ लाख बढीको काँक्रा बेचे । उनीहरूले यति धेरै आम्दानी होला भन्ने सोचले काँक्रा लगाएका होइनन् । तर काँक्रा राम्रो फल्यो, आम्दानी पनि राम्रै भयो ।

गत वर्ष काँक्रा खेतीबाट राम्रो आम्दानी भएपछि उनीहरूलाई हौस्यायो । यस वर्ष गत सालको भन्दा पनि बढी काँक्रा लगाएका छन् । उनीहरूले मात्र होइन टोलका अन्य किसानले पनि काँक्राको राम्रै खेती लगाएका छन् । ‘गएको वर्ष डेढ लाख लिइयो, यस वर्ष कम्तीमा पनि २ लाख जतिको काँक्रा बिक्री होल’, श्रीमान् तामाङले भने ।

खाँडादेवी गाउँपालिकाको चोप्राङ तथा पात्ले क्षेत्रमा चिसो हावापानी भएको कारण हरियो जानको स्वादिलो काँक्रा उत्पादन हुन्छ । यस वर्ष काँक्राको उत्पादन भर्खर सुरु भएको छ । किसानहरूले ओजको अन्तिमसम्म मौसमी काँक्रा नै बिक्री गर्दछन् ।
यस वर्ष ५० हजार रुपैँया जतिको काँक्रा बिक्री गरिसकेको श्रीमान् तामाङले बताए । काँक्रा फल्ने क्रम चलिरहेकोले यस वर्ष २ लाख बढीको काँक्रा बिक्री हुने उनको अनुमान छ ।

पात्लेका १० घर बढी किसानले व्यावसायिक रूपमा काँक्रा लगाएका छन् । ती सबै किसानले काँक्रा बेचेर एक लाख बढी आम्दानी गर्ने सामाजिक अगुवा श्यामकृष्ण श्रेष्ठ बताउँछन् । ‘एउटा घरले सरदर एक लाखको काँक्रा बेच्छन्, त्यस हिसाबले पात्ले टोलबाटै १० लाख बढीको काँक्रा बिक्री हुन्छ’, उनले भने ।

किसानहरूले गाउँमा उत्पादन गरेको काँक्रा संकलन गरी काठमाडौँ पठाउने गर्दछन् । काँक्रा लिन गाउँमा नै गाडी आउने भएकोले बजारको कुनै चिन्ता छैन । पात्लेका किसानले आफ्नो टोलको मात्र होइन गाउँका अन्य टोलका काँक्रा समेत संकलन गरेर बिक्रीको लागि पठाउने गर्दछन् । यसले गर्दा स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । किसानले पनि राम्रो आम्दानी लिएका छन् ।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह