Logo

मुख्य समाचार

जडिबुटीमा बनेको बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश


gdpnepal
   १२ आश्विन २०८०, शुक्रबार


काठमाडौं । पूर्व अरनिको यातायात प्रालिले आफ्नै खर्चमा बनाएको काठमाडौं ३२ जडिबुटीस्थित बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रबार काठमाडौं महानगरका नाउँमा यस्तो आदेश दिएको हो ।

बसपार्क भत्काउने महानगरको तयारीविरुद्ध पूर्व अरनिको यातायात प्रालि अदालत पुगेको थियो । निवेदकको तर्फबाट अधिवक्ताहरु राजेश्वर अधिकारी र प्राणनाथ न्यौपानेले गरेको बहस पछि अदालतले तत्काल नभत्काउन आदेश गरेको हो ।

“यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा कानून वमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्नुहोला भनी प्रस्तुत आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद, सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू,” अदालतको आदेशमा भनिएको छ ।

अन्तरिम आदेश माग गरेतर्फ विचार गर्दा, निवेदनमा उठाइएका विषयवस्तु र प्रकृतिबाट दुवै पक्ष राखी छलफल गरे पश्चात मात्र अन्तरिम दिने वा नदिने तर्फ आदेश गर्न उपयुक्त हुने देखिएकाले सो प्रयोजनका लागि मिति २०८० असोज २१ मा छलफल पेशी तोकिएको छ ।

उल्लेखित छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिबाट निवेदक कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी अदालतले विपक्षी महानगरपालिकाका नाममा अल्पकालिन अन्तरिम आदेश गरिदिएको छ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह