काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवादमा मध्यमार्गी उपाय सुझाएको छ ।
महासंघले यस विषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरिय अधिकारसम्पन्न आयोग स्थापना गनुपर्ने माग गरेको छ ।
“सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस बिषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरीय अधिकारसम्पन्न आयोग स्थापना गनुपर्ने महासंघको माग छ,” सोमबार महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काटिएको प्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालसंग निजी क्षेत्रको भेटमा लाइन नकाट्न निर्देशन भएको र त्यसपछि विभिन्न निकायमा यसबारे छलफल भएको तथा लाइन नकाटी समस्या समाधान हुनेमा उद्यमी व्यवसायी आश्वस्त रहेको अवस्थामा एकपछि अर्को गर्दै विद्युतको लाइन काटिन थालेको भन्दै आपत्ति जनाइएको छ ।
महासंघले यस बिषयमा अन्तिम टुंगो नलागेसम्म विद्युत लाइन काटिएका उद्योगको लाइन जोडन र अन्य उद्योगको लाइन नकाटन विद्युत् प्राधिकरण र अन्य सरोकारवाला निकायहरु समक्ष आग्रह गरेको छ ।
यो विषय तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजश्वमा समेत असर पर्ने उल्लेख छ ।
प्रतिक्रिया