Logo

अर्थनीति

यी हुन् वाइडबडी खरीदको १ अर्ब ४७ करोड भ्रष्टाचारमा संलग्न ३२ आरोपी !


gdpnepal
   २२ चैत्र २०८०, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका लागि एयरबस ए–३२० जहाज खरीदमा १ अर्ब ४७ करोड १० लाख भ्रष्टाचारको आरोपसहित तत्कालीन मन्त्री, सचिवसहित ३२ अधिकारीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रतिवादीहरुले गैरकानूनी रुपमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याएको आरोप लगाएको छ ।

आरोपीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाहीलाई मुख्य आरोपी बनाइएको छ ।

यस्तै, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रवन्धक एवं संचालक समिति सदस्य सुगतरत्न कंसाकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष शंकर प्रसाद अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य शिशिर कुमार ढुङ्गानाविरुद्ध पनि मुद्दा परेको छ । उनी पूर्वसचिव समेत हुन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समितिका सदस्य बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्यहरु टेकनाथ आचार्य, निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि आरोपपत्र दायर भएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य जीवन प्रकाश सिटौला र नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका संचालक समिति सदस्य रहेका अच्युतराज पहाडी पनि मुद्दामा विपक्षी बनाइएका छन् ।

नेपाल वायुसेवा निगमका तत्कालीन का.मु.निर्देशक रामहरी शर्मा सेढाँई, तत्कालीन का.मु. निर्देशक तथा हाल नायव महाप्रबन्धक जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाश कुमार कर्माचार्य विरुद्ध पनि मुद्दा चलेको छ ।

यस्तै, नेपाल वायुसेवा निगमका तत्कालीन निर्देशक गणेश बहादुर चन्द, तत्कालीन का.मु.निर्देशक कर्ण बहादुर थापा र तत्कालीन नि.निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन सुवास रिजालविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ ।

अख्तियारले नेपाल वायुसेवा निगमका तत्कालीन नायव महाप्रबन्धक रमेश बहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का.मु. निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का.मु. निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध पनि मुद्दा दायर गरिएको जनाएको छ ।

विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनी मध्ये एयरकर्प इंक यूएसएका इन्टरनेशनल सप्लाइ चेन प्रेसिडेन्ट बेलायती नागरिक दिपक शर्मा, हाइफ्लाइ एक्स आयरल्यान्डका निर्देशक एवं जर्मन एभिएसन क्यापिटल सिंगापुरका प्रतिनिधि जर्मन नागरिक क्रिश्चियन न्हुेलेन र सोही कम्पनीका फाइनान्स डाइरेक्टर रोमानियाका नागरिक ओलेग क्यालिष्ट्रु रहेका छन् ।

एएआर इन्टरनेशनल इंक यूएसए र उक्त कम्पनीको मुख्य व्यक्ति जोन एम होल्मस, जर्मन एभिएसनका अना टोपा, हाइफ्लाइका पाउलो मिरपुरी र गेराल्ड थोर्टोन, नेर्टोन रोज फुलब्राइटका मार्कस राडब्रच, राल्फ स्प्रीङ्गरविरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह