Logo

बिजनेस होम

लगानी सम्मेलन सरकारका लागि प्रतिष्ठाको विषयः प्रधानमन्त्रीले गुहारे विदेशी राजदूत


gdpnepal
   २७ चैत्र २०८०, मंगलबार


काठमाडौं । वैशाख १६ र १७ मा आयोजना गर्न लागिएको तेस्रो नेपाल लगानी सम्मेलन २०२४ प्रति स्वदेशी र विदेशी लगानीकर्ताको उत्साहजनक चासो देखिन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नै फिल्डमा उत्रन थालेका छन् ।

सम्मेलनअघि सरकारका निजी क्षेत्रविरोधी अनेकौं क्रियाकलापका कारण लगानीकर्ताहरु भड्किरहेका छन् । अर्थमन्त्री वर्षमान पुनलाई आम निजी क्षेत्रले विश्वाससमेत गर्न नसकेपछि प्रधानमन्त्री आफैं फिल्डमा उत्रेका हुन् र

उनले मंगलबार नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा कार्यान्वयन साझेदार संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका थिए ।

नेपालले लगानीको वातावरण सुधारका लागि महत्वपूर्ण कानुनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानी परियोजनाहरू समेत तयार रहेको जानकारी गराउनुहुँदै सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोग नेपाल सरकारले अपेक्षा गरेको उनले बताए ।

“लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू शोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्वान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाहित हुनेछ भन्ने नेपाल सरकारले विश्वास लिएको छ,” उनले भने, “सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध छ । लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिनेछ ।”


लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्ति (रियलाइजेसन) मा निर्भर हुने हुने उल्लेख गर्दै उनले लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत् विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे ।

कूटनीतिक नियोग, दातृ निकाय तथा लगानीकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै नेपाललाई लगानीकर्ताको मुख्य छनौटको गन्तव्य बनाउन पहल गरिएको उनको भनाई थियो ।

छलफल कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्यालले द्विपक्षीय लगानी समझदारीको फ्रेमवर्क मन्त्रिपरिषद्बाट पारित भैसकेको जानकारी गराउँँदै लगानी सम्मेलनमा शोकेस हुने परियोजनाहरूको सूची र विवरण छिट्टै सार्वजनिक गरिने बताए ।

यसअघि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसुशील भट्टले आगामी लगानी सम्मेलनको तयारी, संशोधन हुन लागेका कानुनहरू तथा लगानी सम्मेलनमा शोकेसका हुने परियोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

सम्मेलनले नीति निर्माता, निजी क्षेत्र, लगानीकर्ता, विकास साझेदार, ऋणदाता, विकास वित्त प्रदायक, बैंक तथा वित्तीय संस्था, विज्ञ, थिंक ट्यांक लगायतलाई एकै ठाउँमा ल्याउने हुँदा विदेशी तथा स्वदेशी लगानीकर्ता तथा अन्य सहभागीहरूका लागि नेटवर्किङ गर्ने, लगानी सम्भाव्यता पहिल्याउने र लगानी सम्बन्धी समझदारी/सम्झौता गर्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने उनले चर्चा गरे ।

छलफलमा विभिन्न मुलुकका राजदूतसहति विकास साझेदार संस्थाका प्रतिनिधिहरूले कानुन संशोधनका व्यहोरा, परियोजनाका विवरण तथा द्विपक्षीय लगानी संरक्षण सम्झौता जस्ता विषयमा चासो राखेका थिए । उनीहरूले औपचारिकतावश लगानी सम्मेलनको पूर्ण सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए ।

कार्यक्रममा माननीय परराष्ट्र मन्त्री, अर्थ मन्त्री, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री तथासरकारका सचिवहरू सहभागी थिए ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह