काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएसँगै त्यसको असर पुँजी बजारमा देखिएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङ हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । तर, त्यसको विरोधमा सडक प्रदर्शन सुरु भएसँगै सेयर बजार पनि राताम्मे बनेको छ ।
नेप्सेले नयाँ सीयओ पाएसँगै बढ्नुपर्ने सेयर बजार कुलमान प्रकरणका कारण घटेको जानकारहरु बताउँछन् ।
मंगलबार नेप्से सूचक ५८.०५ अंकले घटेर २५८२.७३ मा आएको छ । ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक घटेका छन् ।
कूल ३२५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।
नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया