Logo

मुख्य समाचार

ओपन एआईसँग प्रतिस्पर्धा गर्न एलन मस्कको एक्सःएआईले गर्‍यो १० अर्ब डलर संकलन


gdpnepal
   १७ असार २०८२, मंगलबार


एलन मस्कद्वारा सञ्चालित कृत्रिम बुद्धिमत्ता स्टार्टअप एक्स एआई ले ऋण र पुँजीमा गरी कुल १० अर्ब डलर संकलन गरेको छ, मोर्गन स्ट्यान्लीले जनाएको छ।

बैंकका अनुसार, सो रकममध्ये आधा सुरक्षित नोट र टर्म लोनमार्फत संकलन गरिएको हो भने बाँकी ५ अर्ब डलर रणनीतिक पुँजी लगानीमार्फत संकलन गरिएको हो।

यसले एक्सःएआईलाई पूर्वाधार निर्माण र आफ्नो ग्रोक एआई च्याटबोट विकास गर्न थप क्षमतायुक्त बनाउनेछ, जसले ओपन एआई लगायत एमेजन समर्थित एन्थ्राेपिक जस्ता प्रतिस्पर्धीहरूसँग टक्कर लिने तयारी गरिरहेको छ।

गत मे महिनामा मस्कले सीएनबीसीलाई एक्स एआईले टेनेसीको मेम्फिसस्थित काेलाेसस सुपरकम्प्युटर सुविधामा २ लाख जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) जडान गरिसकेको बताएका थिए। उनले एक्सःएआईले एनिभिडया र एएमडी जस्ता सेमीकन्डक्टर कम्पनीहरूबाट चिप्स खरिद गर्दै अगाडि बढ्ने र मेम्फिस बाहिर १० लाख जीपीयू क्षमता भएको अर्को सुविधा बनाउने योजना रहेको उल्लेख गरेका थिए।

मोर्गन स्ट्यान्लीले भनेको छ: “संकलित रकम एक्सःएआईको अत्याधुनिक एआई समाधानहरू विकास, विश्वकै ठूलो डेटा सेन्टरहरूमध्ये एकको निर्माण र यसको प्रमुख ग्रोक प्लेटफर्मलाई सहयोग गर्न प्रयोग हुनेछ।”

ग्रोकलाई लगातार अपडेट गरिँदै आएको छ र यस वर्ष फेब्रुअरीमा ग्रोक थ्री मोडल सार्वजनिक गरिएको थियो। मस्कले सो मोडललाई पहिलेको ट्विटर, अहिलेको एक्स सामाजिक सञ्जालसँग एकीकृत गरी यसको प्रयोग बढाउने प्रयास गरेका छन्। मार्चमा एक्सःएआईले एक्स खरिद गरेको थियो, जसअनुसार एक्सको मूल्यांकन ३३ अर्ब डलर र एक्सःएआईको ८० अर्ब डलर भएको थियो। तर हालै संकलित नयाँ पुँजीले सो मूल्यांकन परिवर्तन गरेको हो वा होइन भन्ने प्रस्ट छैन।

सीएनबीसी का अनुसार, गत वर्ष एक्सःएआईले ५० अर्ब डलर मूल्यांकनमा ६ अर्ब डलर उठाएको थियो।

मोर्गन स्ट्यान्लीका अनुसार, हालको ऋण प्रस्ताव अत्यधिक मागमा परेको थियो र यसमा विश्वका प्रमुख ऋण लगानीकर्ताहरूको सहभागिता थियो।

अमेरिकाका एआई स्टार्टअपहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ, र कम्पनीहरूले चिप्स खरिद र पूर्वाधार निर्माणका लागि ठूलो रकम उठाइरहेका छन्।

ओपन एआईले मार्चमा ४० अर्ब डलरको लगानी संकलन गर्दै आफ्नो मूल्यांकन ३०० अर्ब डलर पुर्‍याएको थियो। यसका प्रमुख लगानीकर्तामा माइक्रोसफ्ट र जापानको सोफ्टबैंक रहेका छन्।

क्लाउड च्याटबोट विकासकर्ता एन्थ्राेिपक ले पनि मार्चमा ६१.५ अर्ब डलर मूल्यांकनमा लगानी संकलन गरेको थियो। त्यसपछि मे महिनामा उसले ५ वर्षका लागि २.५ अर्ब डलरको घुम्ती ऋण सुविधा पाएको थियो।

मस्कले ग्रोकलाई “सत्य खोज्न केन्द्रित” र “एन्टीवेक एआई” भनिसकेका छन्, जसले प्रतिस्पर्धी मोडलहरूबाट यसलाई फरक बनाउने दाबी गरेका छन्। तर यसले केही विवाद पनि निम्त्याएको छ। यसै वर्ष ग्राेकले प्रयोगकर्ताको केही प्रश्नमा “ह्यवाइट गेनाेसाइड र दक्षिण अफ्रिकासम्बन्धी असम्बन्धित र विवादास्पद टिप्पणीहरू दिएको थियो।

मस्कले ओपन एआईका स्याम आल्टम्यानसँग पनि पटक–पटक टकराव जनाउँदै आएका छन्। मस्कको भनाइमा, आफूले सह-स्थापन गरेको ओपन एआईले मानवताको हितमा गैरनाफामूलक एआई विकास गर्ने उद्देश्यबाट विचलन भई अब व्यापारिक फाइदातर्फ केन्द्रित भएको छ। फेब्रुअरीमा मस्क र उनका लगानीकर्ताहरूले ओपन एआईको नियन्त्रण लिन ९७.४ अर्ब डलरको प्रस्ताव पनि राखेका थिए, जुन स्याम आल्टम्यानले तत्काल अस्वीकार गरेका थिए।

 

प्रकाशित : १७ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह