काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ बारे विषय विज्ञहरुसँग विस्तृत छलफल गरिएको छ ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिब गौतमले दुवै विधेयकमा थुप्रै आवश्यक परिभाषाहरु छुटेको र केही परिभाषा अस्पष्ट ढंगले लेखिएको बताए ।
उनले नागरिक उड्डयन क्षेत्रको आर्थिक पक्षमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘कुनै विषय आर्थिक विषयसँग सम्बन्धित छ भने उड्डयन प्राधिकरणले स्वीकृत गर्ने विषय र त्यो अर्थ मन्त्रालयले पछि स्वीकृत गर्ने प्रक्रियामा अर्थ मन्त्रालयका सहसचिव अनुपस्थित हुने गर्छन् यस्तो अवस्थामा निर्णय प्रक्रिया कमजोर हुन्छ । अहिले दुई वटा विधेयकहरु आएको छ छुट्टाछुट्टै । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक छन् । धेरै परिभाषाहरु दुईवटै विधेयकमा छुटेको छ । जुन आवश्यक छ । परिभाषा लेख्दाखेरि गलत तरिकाले परिभाषित हुने गरी राखिनु हुँदैन ।’
गौतमले विमानस्थललाई नाफामुखी बनाउन शुल्क वृद्धि अपरिहार्य भएको भन्दै प्राधिकरणको कार्यक्षमता बढाउन जोड दिए । ‘जबसम्म शुल्क वृद्धि गरिँदैन, तबसम्म हामी विमानस्थललाई नाफामूलक बनाउन सक्दैनौं,’ उनले भने ।
उनले कर्मचारीको दक्षता, क्षमता र लगनशीलताले संस्थाको सफलतामा प्रत्यक्ष प्रभाव पार्ने भन्दै त्यसतर्फ समेत सरकार र सरोकारवालाको ध्यान जानु आवश्यक रहेको बताए ।
बैठकमा प्रस्तुत विधेयकहरूमाथि अन्य विषय विज्ञ र सरोकारवालाले समेत आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया