एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको नाटकीय विवादपछि केही हप्तामै नयाँ राजनीतिक दल स्थापना गर्ने घोषणा गरेका छन्।
अर्बपति मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘X’ मा ‘अमेरिका पार्टी’ गठन गरेको जानकारी दिँदै यो रिपब्लिकन र डेमोक्र्याट दुईदलीय व्यवस्थालाई चुनौती दिने उद्देश्यसहित अघि सारेको बताएका छन्।
तर, यो पार्टी अमेरिकी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भइसकेको छ या छैन भन्ने विषय अझै स्पष्ट छैन। मस्कले यस पार्टीको नेतृत्व को गर्ने वा यसको संरचना कस्तो हुने भन्नेबारे पनि कुनै विवरण दिएका छैनन्।
ट्रम्पसँगको सार्वजनिक विवादका क्रममा मस्कले पहिलो पटक नयाँ पार्टी गठन गर्ने सम्भावना व्यक्त गरेका थिए। सो विवादले गर्दा उनले प्रशासनमा रहेको आफ्नो भूमिकाबाट बाहिरिँदै पूर्व सहयोगी ट्रम्पसँग तीव्र सार्वजनिक बहसमा संलग्न भएका थिए।
त्यसबेला उनले ‘X’ मा एक मतदान राख्दै अमेरिकीमा नयाँ राजनीतिक दल आवश्यक छ कि छैन भन्ने सोधेका थिए। शनिबारको पोस्टमा सो मतदानको उल्लेख गर्दै मस्कले लेखे, “२-१ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक दल चाहनुहुन्छ, र तपाईंहरूलाई त्यो पाउनु हुनेछ!”
“जब देशलाई भ्रष्टाचार र फजुल खर्चमार्फत दिवालिया बनाउने कुरा आउँछ, हामी एक-दलीय प्रणालीमा बाँचेका छौं, लोकतन्त्रमा होइन। आज, ‘अमेरिका पार्टी’ तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिनको लागि गठन गरिएको हो।”
शनिबारसम्म अमेरिकी संघीय निर्वाचन आयोगले पार्टी दर्ता भएको संकेत गर्ने कुनै पनि कागजात सार्वजनिक गरेको थिएन।
मस्क २०२४ को निर्वाचनमा ट्रम्पका एक प्रमुख समर्थक थिए र ट्रम्पलाई पुनः सत्तामा फर्काउन २५० मिलियन डलर (£१८७ मिलियन) खर्च गरेका थिए।
निर्वाचनपछि उनलाई तथाकथित ‘सरकारी कार्यक्षमता विभाग’ (Department of Government Efficiency – DOGE) को नेतृत्व सुम्पिएको थियो, जसले संघीय बजेटमा ठूलो खर्च कटौतीको योजना बनाउने जिम्मेवारी पाएको थियो।
तर, मे महिनामा उनले प्रशासनबाट राजीनामा दिएर ट्रम्पको कर तथा खर्च योजनाको सार्वजनिक आलोचना गरेपछि उनीहरूको सम्बन्ध बिग्रियो। ट्रम्पले आफूले अघि सारेको कानुनलाई “मेरो ठूलो, सुन्दर विधेयक” भनेर वर्णन गरेका थिए, जसलाई संसदले कठिनाईपूर्वक पारित गर्यो र राष्ट्रपति ट्रम्पले यसै हप्ता हस्ताक्षर गरेर कानून बनाएका हुन्।
यो व्यापक कानूनमा ठूलो खर्च प्रतिबद्धता र कर कटौती समावेश छन् र यसले आगामी दशकमा अमेरिकी बजेट घाटामा थप ३ ट्रिलियन डलरभन्दा बढी भार पर्ने अनुमान गरिएको छ। बीबीसी










प्रतिक्रिया