काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा निजामती विधेयकमा ‘कुलिङ पिरियड’ निष्प्रभावी बनाउने व्यक्ति पत्ता लगाउन छानबिन समिति गठन हुँदै छ ।
समितिमा रहने व्यक्तिहरूको नाम आज घोषणा हुँदै छ ।
प्रतिनिधिसभाबाट समेत पारित विधेयकमा ‘कुलिङ पिरियड’ प्रावधान खण्डित हुने अर्को व्यवस्था रहेको खुलेपछि छानबिन गर्न संसद्ले विशेष समिति बनाउन लागेको हो ।
सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले जालझेल गरिएको विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुई/दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एकजना सदस्य रहनेछन् ।
समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ राष्ट्रियसभाको सन्देशसहित टेबुल हुनेछ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुनेछ ।
दुईवटा शोक प्रस्ताव र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।










प्रतिक्रिया