Logo

अर्थनीति

यसरी सम्भव छ; हन्ड्रेड बिलियन डलर इकोनोमी, डबल डिजिट ग्रोथः राजेश अग्रवालको दृष्टिकोण


gdpnepal
   २५ असार २०८२, बुधबार


राजेशकुमार अग्रवाल
अध्यक्ष, नेपाल उद्योग परिसंघ

उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको प्रभावकारी छाता संगठनको रुपमा नेपाल उद्योग परिसंघले दुई दशकदेखी मुलुकको समग्र आर्थिक विकासका लागि बलियो एवं सच्चा साझेदारको रुपमा योगदान गर्दै आइरहेको छ । केन्द्रमा ठूला एवं मझौला उद्योगहरु तथा सातै प्रदेश तथा जिल्ला उद्योग संघहरुमार्फत लघु, घरेलु तथा साना उद्योगहरुका मुद्धाहरुलाई प्रभावकारी रुपमा उठाउँदै आएको छ । मुलुकको समग्र आर्थिक विकासलाई केन्द्रमा राखी नीतिगत, कानुनी एवं अन्य आवश्यक प्रभावकारी पहलहरुमार्फत परिसंघ निजी क्षेत्र एवं विकास साँझेदारहरुसँग सहकार्य एवं समन्वय गर्दै नेपाल सरकारले अगाडि सारेका योजना सफल बनाउन समेत प्रयासरत रहदै आएको छ ।

मुलुक सीपयुक्त जनशक्तिको अभावका साथै सीप असमानताको समस्यासँग जुधिरहेको सन्दर्भमा परिसंघले उद्योगका कामदारहरूको क्षमता अभिवृद्धि, श्रम बजारमा रहेको माग र आपूर्तिको बेमेल न्यूनीकरण गर्न तथा उद्योगहरूको उत्पादकत्व वृद्धि गराउन सहयोग गर्ने उद्देश्यले सीप विकास कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्दै आएका छौं । र, उद्योगहरुका लागि आवश्यक दक्ष जनशक्ति प्राप्त नभईरहेको अवस्थामा काठमान्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल विश्वविद्यालयसँग इन्डष्ट्री एकेडेमियाका लागि सहकार्य गरेकाछौं । यसैगरी उद्योग एवं व्यवसायमा आवश्यक जनशक्तिहरूको पेसागत तह तथा उनीहरूको दक्षता विश्लेषण गरी सीप प्रमाणिका, पाठ्यक्रम निर्माण, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमहरूको आवश्यकता निर्धारणलगायतका कार्यक्रम पनि संचालन गरिरहेका छौं ।

समग्र आर्थिक विकासमा केन्द्रित रही नेपाल सरकारलाई विभिन्न विषयमा नीतिगत सुझाव दिने क्रममा १६औं योजना तर्जुमा गर्दा राष्ट्रिय योजना आयोगलाई विस्तृतमा सुझाव पेश गरेका थियौं । परिसंघले दिएका मध्ये ४१ प्रतिशत बढी सुझावहरु १६औं योजनामा समेत समेटिएको छ । यसैगरी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि दिइएको नीतिगत सुझावहरुमध्ये ५८ प्रतिशत बढी सुझाव समेटिएका छन् । यसले परिसंघका सुझावहरु तथ्य तथा आवश्यकतामा आधारित छन् भन्ने पुष्टि गरेको छ ।

परिसंघले सुझाव मात्रै दिने गरेको छैन् । सरकारले अगाडि सारेका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि रचनात्मक भूमिका समेत खेल्दै आएको छ । यसको एउटा प्रमुख उदाहरण हो, बजेटको प्रभावकारी कार्यान्वयनका लागि संचालन गरिरहेको सार्वजनिक निजी संवाद ‘बजेट वाच’ पहल ।
नेपाल सरकारले एक अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना गरी नविन सोच भएका युवाहरुलाई प्रोत्साहन गरेको छ । त्यसैगरी परिसंघबाट पनि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमार्फत युवा उद्यमीहरुलाई प्रबद्र्धन एवं प्रोत्साहन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै लगानी जुटाउने उद्देश्यले हरेक वर्ष स्टार्टअप फेष्ट गर्दै आएका छौं ।

उच्च अंकको आर्थिक बृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक छ । दीगो पूर्वाधार विकास समग्र आर्थिक विकासको मेरुदण्ड पनि हो । सोही अवधारणालाई आत्मसाथ गर्दै सन् २०१४ देखि हरेक दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएका छौं । सस्टेनेबल इन्फ्रास्ट्रक्चर थ्रु स्टार्टेजिक इन्भेष्टमेन्टको थिममा नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा पाँचौं संस्करणको नेपाल पूर्वाधार सम्मेलन सफलता पूर्वक आयोजना गर्यौ । सम्मेलनमा पूर्वाधार विकासको अन्तर्राष्ट्रिय अभ्याससँगै कसरी लगानी जुटाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भयो । स्वदेशी एवं विदेशी विज्ञहरुबाट प्राप्त सुझावहरु नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध समेत गराइसकेका छौं ।

सूचना प्रविधि क्षेत्र मुलुकको आर्थिक विकासको अभिन्न अंगको रुपमा तीब्र गतिमा अगाडि बढेको छ । सूचना प्रविधि उद्योगको प्रबद्र्धन, प्रोत्साहन गर्न टेकपिक नेपाल २०२४ काठमान्डौंमा सम्पन्न गर्यौ । नेपालको सूचना प्रविधि क्षेत्र, लगानी र अवसरका बारेमा विदेशीमाझ जानकारी गराउने उद्देश्यले पहिलो पटक अमेरिकामा टेकिपिक नेपालः अर्लान्डो २०२५ रोड शो सफलतापूर्वक सम्पन्न गरेकाछौं ।

महिला उद्यमी प्रबद्र्धन एवं प्रोत्साहनका लागि पनि काम गर्दै आएका छौं । सिएनआई वुमन लिडरसिप फोरम को संयोजनमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन गर्दै आएका छौं । सन् २०२४ मा प्रादेशिक तहको महिला नेतृत्व कृषि सम्मेलन र अन्तर्राष्ट्रिय स्तरको वुमन लिडरसिप समिट २०२५ आयोजना गरेका थियौं । परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याई नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल गरी सम्मेलनबाट आएको निष्कर्ष नेपाल सरकारसमक्ष पेश समेत गरेका छौं ।

नेपाल उद्योग परिसंघले आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य उद्देश्य राखेर नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ अभियान संचालन गरिरहेको छ । स्वदेशी उद्योगहरुको प्रबद्र्धनका लागि राज्यले लिनुपर्ने नीतिगत व्यवस्थामा केन्द्रित रही स्वदेशी सम्मेलन आयोजना गरी नीतिगत सुझाव प्रस्तुत गर्दै आएका छौं ।

मेक इन नेपाल स्वदेशीको कलेक्टिभ ट्रेडमार्क प्राप्त गरेका छौं । यसले स्वदेशी अभियानमा आवद्ध उद्योगहरुलाई प्रोत्साहन गर्ने हाम्रो विश्वास छ ।

अर्थतन्त्र एवं उद्योगसँग सम्बन्धित विषयमा रिसर्च गरेर मात्रै आफ्ना सुझावहरु नेपाल सरकार, नियामक निकायहरुलाई दिने गरेको जानकारी गराउन चाहन्छु । परिसंघमा स्थापना गरिएको अनुसन्धान इकाईले त्रैमासिक रुपमा सिएनआई इन्डष्ट्री स्टाटस रिपोर्ट, मासिक रुपमा सिएनआई नेपाल इकोनोमी इनलाइट्स प्रकाशन गर्दै आएका छौं ।

अब म मुलुकको विद्यमान अर्थतन्त्र, निजी क्षेत्रको अनुभव तथा नेपाल सरकारले चालेका सुधारका विषय संक्षेपमा राख्न चाहन्छु ।
(क) विदेशी विनिमय संचिती, शोधनान्तर बचतको हिसाबले बाह्य क्षेत्र राम्रो छ । चालु आर्थिक वर्षको १० महिनासम्मको तथ्यांक अनुसार १४ दशमलब ६ महिनालाई वस्तु र सेवा आयात धान्न पुग्नेगरी १८ अर्ब ४० करोड डलर विदेशी विनिमय संचिती हामीसँग छ ।
(ख) अहिले मुद्रास्फिती पनि न्यून छ । बैशाखसम्म २ दशमलब ७७ प्रतिशत मुद्रास्फिती छ । रेमिट्यान्स पनि बढेर बैशाखसम्म १३ खर्ब ५६ अर्ब भित्रिएको छ । बैंक तथा वित्तिय संस्थामा लगानी योग्य रकम साढे ६ खर्ब भन्दा बढी छ । ब्याजदर पनि एकल विन्दूमा आएको छ ।
(ग) ब्याजदर एकल विन्दुमा झरेको, बैंक तथा वित्तिय संस्थामा लगानी योग्य रकम रहेको भएतापनि समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइरहेका छैनन् र लगानी समेत गर्न सकिरहेका छैनन् । विद्यमान अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती भनेको नै यही हो ।


उद्योगहरुको उत्पादन बढ्न सकेको छैन् । उद्योगहरुमा नियमित विद्युत आपूर्ती नभएको कारणले उत्पादन लागत समेत बढ्न गईरहेको छ । एकातिर बैंकमा लगानीयोग्य रकम बढ्दै गएको छ, अर्कोतर्फ विगतमा नियामक निकायले लिएको नीतिका कारण लगानीकर्ता लगानी गर्न सकिरहेका छैनन् । २०८० भदौंमा परिसंघले आयोजना गरेको एक कार्यक्रममा मैले भनेको थिए, अर्थतन्त्र “नीति प्रेरित मन्दी”मा छ । यसले ब्यालेन्ससिट रिसेससनको अवस्था सिर्जना गर्दै कन्जम्पस डाउनग्रेड को स्थितिमा पुर्याएको छ । तर, नियामकले त्यो वास्तविक अवस्थालाई ध्यान नदिदा आज त्यसको असर अर्थतन्त्रले भोगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा समेत असर परेको छ ।


(घ) समग्र अर्थतन्त्रलाई निरन्तर चलायमान बनाइराख्न सरकारले गर्ने पूँजीगत खर्चको महत्वपूर्ण भूमिका हुन्छ । तर पूँजीगत खर्चको अवस्था विगतदेखि नै चिन्ताजनक रहदै आएको छ ।

५. उल्लेखित चुनौतीहरुको समाधान गर्न सरकारले प्रभावकारी उपायहरुको अवलम्बन गर्छ र लगानी विस्तारको वातावरण बनाउदैछ भन्ने विश्वासमा निजी क्षेत्र रहेको समेत अवगत गराउन चाहन्छु ।

क) आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिबृद्धि एवं सार्वजनिक सेवामा सुशासन प्रवाह गर्न कानुनमा गरिएको सुधार, ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धि निर्देशिका, उत्पादनलाई प्रोत्साहन गर्नेगरी आर्थिक वर्ष २०८२÷८३ को बजेटले निजी क्षेत्रलाई आशावान पनि बनाएको छ । सुधार गरिएका कानुन तथा निर्देशिकाबाट उपलब्धी हासिल गर्न प्रभावकारी कार्यान्वयन भने अति आवश्यक छ ।

नेपाल उद्योग परिसंघले पूराना एवं अर्थतन्त्र विकासका बाधक रहेका कानुनहरुमा सुधार गर्न विस्तृत अध्ययनसहित खारेज नै गरिनुपर्ने कानुनहरु, सुधार गरिनुपर्ने कानुनका दफाहरु र नयाँ ल्याउनुपर्ने कानुनका सूचीहरु समेतको पुस्तिका नै नेपाल सरकारलाई बुझाएका थियौं । सोही सुझावलाई समेत आधार बनाएर सरकारले कानुनहरुमा गरेको सुधारका लागि नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, संसद्प्रति आभार व्यक्त गर्दछौं । अन्य कानुनहरुको सुधारलाई समेत उच्च प्राथमिकता दिन अनुरोध गर्दछु ।

ख) सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू नै यसअघि प्रधानमन्त्री हुनुभएको बेलामा २०७७ सालमा मेक इन नेपाल स्वदेशी अभियान प्रारम्भ भएको थियो । यस अभियानले लिएको उद्देश्य प्राप्तिका लागि परिसंघबाट निरन्तर नीतिगत सुधारका लागि पहल गर्दै आईरहेका छौं । आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य उद्देश्यसहित संचालन भइरहेको स्वदेशी अभियानले राखेको लक्ष्य हासिल गर्न सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धि निर्देशिकाको प्रभावकारी कार्यान्वयनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएकाछौ ।

ग) कानुनी सुधार एवं आर्थिक वर्ष २०८२/८३ सालको बजेटले केही क्षेत्रमा ऐतिहासिक पहल गरेको छ । देश बाहिर लगानी गर्नै दिन हुँदैन भन्ने परम्परागत एवं संकुचित सोचलाई चिर्दै नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिने तथा निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने भन्ने व्यवस्था निकै दूरदर्शी छ । सक्षम भएका अन्य क्षेत्रलाई पनि विदेशमा लगानी गर्न खुला गर्दै जानुपर्छ भन्ने सुझाव समेत राख्न चाहन्छु ।

घ) सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्दै निजी लगानी प्रवद्र्धनलाई प्राथमिकता दिने भनेको छ । यसका लागि विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई छुट तथा सुविधा, जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानूनको पुनरावलोकन गर्ने, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र एवं औद्योगिक पार्क सार्वजनिक निजी साँझेदारीमा संचालन गर्ने घोषणा, सूचना प्रविधि क्षेत्रका लागि गरिएको प्रोत्साहन, राष्ट्रिय प्रसारण प्रणालीदेखि उद्योग स्थलसम्मको प्रसारण लाइन उद्योग आफैले निर्माण गरेमा ह्विलिङ्ग चार्ज लिन पाउने व्यवस्था, विद्युत माग कम हुने समयमा निश्चित युनिटभन्दा बढी खपत गर्ने उत्पादनमूलक उद्योगलाई महसुल दरमा थप छुट घोषणालगायतका व्यवस्थाको हामीले स्वागत गरेकाछौं । साथै औद्योगिक विकास रणनीति बनाउन, गुणस्तर प्रवद्र्धन तथा गुणस्तरीय वस्तु आयात तथा उद्योगहरूलाई विशिष्ठिकृत ऐनहरूले दिएको सुविधा उपलब्ध गराउनेतर्फ समेत विशेष ध्यान दिन आग्रह गर्दछु ।

६. सरकारले सुरु गरेको केही कानुनी एवं नीतिगत सुधारका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा उच्च महत्व दिनुपर्ने विषय राख्न चाहन्छु ।
क) उद्योगी व्यवसायीबाट आर्थिक कसुर भएमा थुन्ने नभई आर्थिक जरिवाना गर्ने विषयलाई छिमेकी मुलुक भारतलगायत विकसित मुलुकले उच्च प्राथमिकतामा राख्दै आएका छन् । नेपाल उद्योग परिसंघले आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै हुने व्यवस्था गर्न आग्रह गर्दै विस्तृत अध्ययनसहितको सुझाव नेपाल सरकारलाई बुझाइसकेका छौं । आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै गर्ने गरी हाम्रा कानुनहरुमा सुधार गरिनुपर्ने आवश्यकता छ ।

डिक्रिमिनलाइजेसन अफ कर्पोरेट लजको मनसाय भनेको आर्थिक कसुरमा आर्थिक जरिवाना गरियोस् तर उद्योगी व्यवसायीलाई थुनेर राज्यले लाभ हासिल गर्न सक्दैन् भन्ने रहेको हुँदा यसलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गर्न चाहन्छु ।

ख) नेपाल उद्योग परिसंघले अग्रीम जमानत सम्बन्धी व्यवस्था गर्न आग्रह गरेको छ । अग्रीम जमानत सम्बन्धी व्यवस्था निजी क्षेत्रका लागि मात्रै होइन कर्मचारीतन्त्र, राजनीतिज्ञ, व्यवसायिक व्यक्तिलगायत आम सर्वसाधारणको हितमा रहेकाले अग्रीम जमानत सम्बन्धी कानुनी व्यवस्था गर्न अनुरोध गर्दछु ।

ग) समग्र मागमा आएको संकुचनले उत्पादक मर्कामा परिरहेका बेला उधारो समेत उठाउन नसक्दा अर्को पीडा थपिरहेको छ । अन्य मुलुकमा भुक्तानी सुरक्षण ऐनको व्यवस्था भएतापनि हाम्रोमा यस्तो व्यवस्था हालसम्म छैन् । त्यसैले भुक्तानी सुरक्षण ऐन ल्याउन हार्दिक अनुरोध गर्दछु ।
घ) अनौपचारिक व्यापार का कारण राज्यले राजस्व गुमाइरहेको छ भने स्वदेशी उद्योगहरु मर्कामा परिरहेका छन् । भारतसँगको सीमा क्षेत्रमा रहेको अवैध कारोबार नियन्त्रणका लागि कठोर रुपमा प्रस्तुत हुन हार्दिक अपिल गर्दछु । विगतमा अवैध कारोबार रोक्न नेपाल सरकार सफल भएको प्रशस्त उदाहरण रहेको हुँदा राज्यले चाहेमा अवैध कारोबार नियन्त्रण गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं ।

ङ) आयकर ऐनको दफा ५७ र ९५क मा भएको व्यवस्थाले दोहोरो कर लाग्ने गरेको छ । यसका कारण पनि लगानीकर्ता आकर्षित भईरहेका छैनन् । आयकर ऐनको दफा ५७ र ९५क मा सुधार गर्न आवश्यक छ ।

७. समृद्धि हाम्रै पालमा सम्भव छ । हामीले नै समृद्धि ल्याउने हो । समृद्ध नेपाल, सुखी नेपाली हाम्रै पालामा नभए कहिले ? त्यसैले नेपाल उद्योग परिसंघ एक खर्ब डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्ने अठोटका साथ अगाडि बढ्न नेपाल सरकार, राजनीतिक दल, निजी क्षेत्र, विकास साँझेदारलगायत सबै सरोकारवालाहरुसमक्ष आह्वान गर्दछ । पूर्वाधार, उर्जा, सूचना प्रविधी, उत्पादनमुलक उद्योग, पर्यटन तथा स्वास्थ्य, कृषि, खानी तथा खनिज र शिक्षालाई उच्च प्राथमिकता राखेर अगाडि बढ्दा हन्ड्रेड बिलियन डलर इकोनोमी, डबल डिजिट ग्रोथ हासिल गर्न सकिनेमा हामी विश्वस्त छौं ।

८) १६औं पञ्चवर्षीय योजनाले आगामी पाँच वर्षमा औसत ७.१ प्रतिशतको आर्थिक वृद्धिदर कायम राख्नका लागि रु. ११ हजार १८० अर्बभन्दा बढी लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको छ । त्यसैले, दोहोरो अंकको आर्थिक वृद्धि दर हासिल गर्न र आगामी दशकभित्र अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्याउन ठूलो लगानी आवश्यक पर्न सक्ने देखिन्छ । यद्यपी दृढ इच्छाशक्ति हुने हो भने एक दशकभित्रै हामीले यो उपलब्धी हासिल गर्न सक्छौं । यसका लागि;

क) हाम्रो अर्थतन्त्रलाई विविधिकरण गर्न सूचना प्रविधि क्षेत्रको द्रुत विकास एवं प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छ ।

ख) हाम्रो जनसांख्यिकीय लाभ तथा युवा पूँजीको प्रभावकारी उपयोगमा ध्यान दिनुपर्छ । आर्थिक वृद्धिलाई गति दिन कार्यशील जनसंख्या, विशेषगरी युवाहरूको शिक्षा तथा सीप विकासलाई उच्च प्राथमिकता दिन आवश्यक छ । प्राविधिक, व्यवसायिक र व्यावसायिक शिक्षा विस्तार गर्नुका साथै स्वास्थ्य पूर्वाधार विस्तार, सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीलाई बलियो बनाउँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक रहेको देखिन्छ ।

ग) दिगो पर्यटन र प्राकृतिक स्रोतको सही उपयोग गर्न आवश्यक छ । विशाल प्राकृतिक स्रोत भएको हाम्रो देशले दिगो पर्यटन प्रवद्र्धनमार्फत आर्थिक विकासमा टेवा पुर्याउन सक्छ ।

घ) नेपालले ऊर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जालाई समेत प्राथमिकता दिनुपर्छ । सरकारले जलविद्युत् र नवीकरणीय ऊर्जामा निजी लगानी आकर्षित गर्न विभिन्न छुट, सहुलियत, प्रशासनिक प्रक्रियामा सहजीकरण हुन आवश्यक छ ।
ङ) नेपालले जलवायु जोखिमलाई कम गर्न बहुआयामिक दृष्टिकोण अवलम्बन गर्दै सरकारी नीति, निजी क्षेत्रको सहकार्य, समुदायको सहभागिता, दिगो भूमि प्रयोग, जलवायु प्रतिरोधी कृषि पूर्वाधार विकास, तथा संस्थागत क्षमता सुदृढीकरणलाई प्राथमिकता दिइनुपर्ने हाम्रो सुझाव छ ।

च) स्वदेशी लगानीले मात्रै समृद्धि हासिल गर्न सकिदैन् । त्यसैले विदेशी लगानी आकर्षित गर्न र सुरक्षित राख्न व्यवसायिक वातावरणमा थप सुधार गर्नुपर्छ । यसका लागि विशेषगरी स्थिर राजनीति तथा प्रशासनिक वातावरणमा ध्यान दिनुपर्छ । यसैगरी सुदृढ वित्तीय क्षेत्र विकास, प्रविधिको माध्यमबाट वित्तीय पहुँच सुधार, तथा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्ने गरी अनुकूल नीति बन्ने विश्वास गर्दछु ।

छ) डिजिटल वित्तीय पहुँच विस्तारसँगै बचतको आधार बढाउन आवश्यक हुन्छ । गिग अर्थतन्त्र तथा डिजिटल उद्यमशीलता प्रवद्र्धन गरी औपचारिक अर्थतन्त्रमा बचतको आधार बलियो बनाउन लाग्नुपर्छ । यसले देशभित्र निजी क्षेत्रको “लगानी योग्य पूँजी” बढ्नेछ, जसले आर्थिक वृद्धिमा योगदान गर्न सक्नेछ ।

ज) यसैगरी क्षेत्रीय सहकार्य र कनेक्टिभिटी प्रवद्र्धनलाई जोड दिन आवश्यक हुन्छ । हामीले बङ्गलादेश–भारत–नेपाल आर्थिक करिडोर विकासलाई अगाडि बढाउन आवश्यक छ । बलियो भौतिक पूर्वाधार र कनेक्टिभिटी प्रणालीको विकासबाट व्यापार लागत घटाउन र दुईपक्षीय व्यापार तथा लगानी अभिबृद्धि गर्न सकिन्छ ।

झ) हाम्रो देशमा भएको अपार सम्भावनाको उपयोग गर्दै बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा थप आकर्षित हुने वातावरण बनाइनुपर्छ । भारत र भियतनामजस्ता देशहरूले जसरी लाभ लिइरहेका छन् त्यसैगरी हाम्रो रणनीतिक अवस्थाको उपयोग गर्दै बहुराष्ट्रिय कम्पनीहरुलाई आकर्षित गर्न सक्नुपर्छ ।

९)हामीले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकता दिईरहेको अवस्थामा माथि उल्लेखित विषयलाई समेत प्राथमिकतामा राखी सुधार गर्न सकिएको खण्डमा छिट्टै हन्ड्रेड बिलियन डलर इकोनोमी, डबल डिजिट ग्रोथ हासिल गर्न सक्छौं । हालको ४४ अर्ब डलरको अर्थतन्त्रलाई विस्तार गरी १०० अर्ब डलरको बनाउन आजै प्रतिज्ञा गर्न, अठोट लिन र सोही अनुरुप अगाडि बढ्न अपिल गर्न चाहन्छु ।

यो प्रतिबद्धता, अठोट नलिने हो भने समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अधुरो रहन्छ । स्पष्ट लक्ष्य, प्रष्ट नीति, सहयोगी कानुन बनाउने जिम्मा सरकार, संसदले लिनुपर्छ । सधै आशावादी नेपालको निजी क्षेत्र स्वदेशी लगानी विस्तारसँगै विदेशी लगानी भित्र्याउन, उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न तयार छ, प्रतिबद्ध छ ।

अन्त्यमा, मेरो कार्यकालमा प्रत्यक्ष एवं परोक्ष रुपमा सल्लाह, सुझाव एवं सहकार्यका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, राजनीतिक नेतृत्व, नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरु, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु, उद्योगी व्यवसायी, कुटनीतिक नियोग एवं विकास साझेदार, नागरिक समाज, संचार क्षेत्र सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।

यसैगरी मेरो कार्यकाललाई सफल एवं प्रभावकारी बनाउन प्रत्यक्ष रुपमा महत्वपूर्ण मार्ग निर्देशन एवं सहयोग गर्नुहुने परिसंघका प्रेसिडेन्ट एमरेट्सज्यू, गभर्निङ्ग काउन्सिलका आदरणीय सदस्यज्यूहरु, सिएनआई एडभाइजरी काउन्सिल, सहकर्मी उपाध्यक्षज्यूहरु तथा अन्य पदाधिकारीज्यूहरु, राष्ट्रिय परिषद् सदस्यज्यूहरु, प्रदेश तथा जिल्ला उद्योग संघ परिसंघका अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, परिसंघका सदस्यज्यूहरु, परिसंघका महानिर्देशक एवं सचिवालयका कर्मठ कर्मचारी साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघको २२ औं साधारणसभामा व्यक्त गरेको विचारको सम्पादित अंश

प्रकाशित : २५ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह