काडमाडौं । बतास हायर पर्चेज प्रालि (बीएचपीपीएल)को आम्दानी गत आर्थिक वर्षमा झन्डै ६२ प्रतिशतले घटेको छ ।
बतास समूहबाट गत वर्ष केडिया अर्गनाइजेसनले खरिद गरेको बीएचपीपीएलको आम्दानी गत आवमा १० करोड ५० लाखमा खुम्चिएको छ ।
अघिल्लो वर्ष कूल २७ करोड ३० लाख आम्दानी गरेको कम्पनीले स्वामित्व हस्तान्तरण भएको वर्ष भने व्यवसायमा गिरावटसँगै ६१.५३ प्रतिशतले आम्दानीमा कमी आएको छ ।
इक्रा नेपालका अनुसार केडिया समूहसँगको सहकार्य बीएचपीपीएलको बलियो पक्ष भए पनि गुणस्तर र लाभांशमा भने चुनौती देखिएको छ ।
बीएचपीपीएल नेपालकै पुरानो हायर पर्चेज पुनर्वित्त कम्पनी हो । सन् २००३ देखि सञ्चालनमा रहेको कम्पनीलाई सन् २०२५ को मार्चमा केडिया समूहले पूर्व प्रवद्र्धक बतास समूहबाट स्वामित्व खरिद गरेको हो ।
केडिया समूहसँगको वर्तमान सम्बन्धले भविष्यमा कर्जा चुक्ता गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको इक्रा नेपालले जनाएको छ ।
१. अनुभवी समूहको हिस्साः
बीएचपीपीएल हाल केडिया अर्गनाइजेसनको हिस्सा भएको छ, जुन नेपालमा विभिन्न उद्योगहरूमा सक्रिय अनुभवी व्यावसायिक समूह हो । कम्पनीले अघिल्लो दुई दशकदेखि हायर पर्चेज पुनर्वित्त क्षेत्रमा सेवा दिँदै आएको छ ।
२. दीर्घकालीन सञ्चालन अनुभवः
२० वर्षभन्दा लामो समयदेखि सञ्चालनमा रहेको यस कम्पनीको ऐतिहासिक ट्रयाक रेकर्ड यस क्षेत्रमा यसको मजबुत उपस्थिति देखाउँछ ।
चुनौतीहरू
१. सम्पत्ति गुणस्तरमा लगातार गिरावटः
आर्थिक मन्दी लामो समयसम्म रहँदा कम्पनीको ९० दिनभन्दा बढी बक्यौता रहेको कर्जामध्य पुस २०८१ सम्म झण्डै ३८ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको मध्य–जुलाईमा १९ प्रतिशत थियो ।
यसैगरी, कम्पनीको गैर–कार्यशील कर्जा (एनपीए) ८.७ प्रतिशतबाट बढेर १८.७ प्रतिशत पुगेको छ । यदि पुनःस्रोत प्राप्तिमा सुधार नभएमा, कम्पनीको कर्जा चुक्ता क्षमतामा नकारात्मक असर पर्न सक्ने देखिन्छ ।
२. क्षेत्रगत निर्भरता अत्यधिकः
बीएचपीपीएलको कर्जा लगानीमध्ये ८३ प्रतिशत व्यापारिक तथा निर्माणजन्य सवारी साधन क्षेत्रमा केन्द्रित रहेको छ । आइचर ब्रान्ड मात्रै ५० प्रतिशत हिस्सा ओगटेको छ । यसले आर्थिक मन्दीमा असूलीको जोखिम बढाएको छ ।
३. कमजोर नाफा र पूँजी स्थितिः
सन् २०२५ को पहिलो छ महिनामा कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन करिब ४.७ प्रतिशत रहेको भए तापनि ठूलो परिमाणमा गरिएको क्रेडिट प्रोभिजनिङले कम्पनीको नाफा घटाएको छ । यसले कम्पनीको पूँजीमा २४ प्रतिशत क्षति पु¥याएको छ । दीर्घकालीन रूपमा नाफा र पूँजी स्थायित्व कायम राख्न चुनौती रहेको छ ।
४. नियामकीय नियन्त्रण सीमितः
बीएचपीपीएलजस्ता कम्पनीहरूमा नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायको कडाई कम हुने हुँदा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको छ । ऋण मूल्यांकन, पोर्टफोलियो निगरानी र नगद प्रवाह व्यवस्थापन प्रणालीमा अझ सुधार आवश्यक रहेको इक्रा नेपालले जनाएको छ।
निष्कर्षः
बीएचपीपीएलको भविष्य धेरै हदसम्म केडिया समूहको समर्थन, पुनःस्रोत सुधार क्षमता, र आन्तरिक जोखिम व्यवस्थापन सुधारमा निर्भर रहनेछ । नियामक र लगानीकर्ताहरूका लागि कम्पनीको कर्जा विस्तार, असूली दर, र नाफाको ट्रेन्ड महत्त्वपूर्ण सूचकका रूपमा रहनेछन् ।










प्रतिक्रिया