Logo

Banner-news

विकासको मुख्य समय खेर गयो, पर्यटकीय सिजन पनि रहेन, आर्थिक वृद्धिको लक्ष्य पुग्दैन


GDP Nepal
   १८ चैत्र २०७६, मंगलबार


डा. युवराज खतिवडा

अहिले सबै कुरा प्रक्षेपण गर्न कठिन छ । यो संक्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभो जाँदैछ । छिमेकी मुलुक भारतमा पनि पहिलो संक्रमितको संख्या १०० पुग्न कति दिन लाग्यो ? २०० हुँदै एक हजार माथि जान धेरै दिन लागेन । त्यसो हुनाले छिमेकी भारतमा कोरोना संक्रमणको दर बढ्दै जाँदासम्म हामीलाई जोखिम त हुन्छ नै । त्यो हुनाले हामीले पनि तदअनुरुप कदम चाल्नुपर्छ ।

त्यसैले अहिले हामीले लकडाउन गरेको र सीमा बन्द गरेको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गयो । अब हाम्रो विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ हो । मुख्य समय हाम्रो खेर गयो । दोस्रो फेब्रुअरी र मार्च पर्यटकको सिजन हो । त्यो पनि खेर गयो । तेस्रो यो सिजन नभनिए पनि वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भयो ।

त्यसो हुनाले समग्र अर्थतन्त्रमा हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो । तर, कति कम हुन्छ भन्ने कुराको हामी आकलन गर्दैछौँ ।

विश्वका अन्य मुलुकमा हेर्ने हो भने कोरोनाका कारणले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने अनुमान गरिएको छ । ६ प्रतिशतको वृद्धि भनियो भने ५ वा ४.५ या ४ भनिएको छ । हामीकहाँ पनि १–२ प्रतिशतको असर त पर्छ नै । छोटै अवधिमा संक्रमणको जोखिम सकियो भने १ प्रतिशतमा होला, लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला ।

तर, समृद्धिको मार्ग भनेको महिना, वर्ष या दिनले हिसाब गर्ने कुरा होइन, यो दशकौँको कुरा हो । त्यसो हुनाले अहिले हामीले कोरोनाका कारणले दुई महिना पछि प¥यौँ भने पनि त्यो गति फेरि पक्डिन सकिन्छ । हाम्रो साधनस्रोत र क्षमतालाई हामीले ‘इन्ट्याक्ट’ राख्न सक्नुपर्छ । अप्ठ्यारो अवस्थामा हाम्रो संगठित शक्ति कहीँकतै छिन्नभिन्न हुने सम्भावना पनि हुन्छ ।

हाम्रो राष्ट्रिय एकता एक होस्, हाम्रो मनोबल नगिरुन्, उच्च मनोबलका साथ बस्यौँ भने संक्रमणको अवधि सकिने वित्तिकै फेरि हामी गति समातिहाल्छौँ । मार्ग त्यही हो गति अलि छिटो गर्नुपर्ने हो । हामी लक्ष्यतिरै जान्छौं ।

कोरोना वा अन्य कुनै समस्या भए पनि विगतजस्तो जेठ १५ त टालिँदैन । त्यसो भएर हाम्रो बजेटको तयारी चलिराखेको छ । हामी विभिन्न सिनारियोमा काम गरिरहेका छौँ । चालू वर्षको कोरोनाको संक्रमणको जोखिम छिट्टै सक्कियो भने एउटा सिनारियो हुन्छ । यो लम्बियो भने अर्को सिनारियो हुन्छ ।

बजेटका आधारभूत सिलिङहरु प्रत्येक मन्त्रालयलाई दिने कुरा भइरहेको छ । मुख्यमुख्य कार्यक्रम छलफलमा छन् । मन्त्रालयले पनि बजेटसम्बन्धी छलफल गर्दैछन् । तर अहिले लकडाउनको अवधि भरी हामीले भेटघाट गरेर बजेटसम्बन्धी छलफल भने गरेका छैनौँ । राष्ट्रिय योजना आयोगमा हुने बजेट छलफललाई पनि पर सारियो ।

मन्त्रालयगत हुने बजेट छलफललाई पनि पर सारियो । तर, मन्त्रालयलहरुले आआफूले गर्ने आफ्नो तयारी र अर्थ मन्त्रालयले गर्ने आफ्नो तयारी गरिराखेको छ । अब यो लकडाउनको अवधि सकिने बित्तिकै हामी एक ठाउँ बसेर टुङ्ग्याउँछौँ । नीतिगत सुधार गर्नुपर्ने ठाउँमा हामीले दैनिकै छलफल गरिरहेका छौँ । लकडाउनको अवधिभर पनि हामीले राम्रै काम गर्न सक्छौँ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्ताबाट

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह