काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने संकट अब टरेको छ ।
उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।
काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा पुगेको छ । त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।
मौसमविद् उज्वल उपाध्यायका अनुसार वर्षा गराउने मौसमी प्रणाली राति करिब २ बजेपछि यो प्रणाली काठमाडौं उपत्यका र वरपरका क्षेत्रहरूबाट सर्दै कमजोर हुँदै पूर्वतर्फ सरेको हो।
अब बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना छैन। भई हाले पनि केहि बेर सिमसिम मात्रै पर्ला । अनुमानभन्दा केही छिटो मौसम खुलेको देखिन्छ, र मध्यान्हसम्म घाम पनि झुल्कने अपेक्षा छ।
तर, मध्यम देखी भारीवर्षा हुन सक्ने कोशी प्रदेशका पहाडी जिल्लाहरूले आज साँझसम्म सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।
यसैले सप्तकोशी नदीको बहाव बढ्ने सम्भावना छ। अन्य प्रमुख नदीहरू — त्रीशुली, मर्स्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशी — मा पानीको बहाव क्रमशः घट्दै जानेछ।
कोशी बाहेकाका राजमार्गहरूमा अब यातायात सुचारु गर्न सकिने देखिए पनि, ठूला वर्षाले गलेका पहाडी क्षेत्रमा आज दिनभर पहिरोको जोखिम कायम रहने उनको भनाइ छ ।
काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा भने आजबाट दैनिक जनजीवन सामान्य अवस्थामा फर्कनेछ, खोलानाला र साना नदीहरूमा पनि अब जोखिम छैन।










प्रतिक्रिया