काठमाडौं । कोरियाली भाषा परीक्षा उत्तीर्ण गराउन नक्कली परीक्षार्थी गर्ने गरिएको र उनीहरुका लागि साढे ९ लाखसम्म खर्च गर्ने गरेको पाइएको छ । भाषा परीक्षामा नक्कली परीक्षार्थीको बन्दोबस्त भने भाषा पढाउने इन्स्टिच्युटहरुले नै गर्ने गरेको अनुसन्धानले देखाएको छ ।
कोरियाली सरकारको छानबिनअनुसार खेताला परीक्षार्थीका लागि प्रतिव्यक्ति ५ हजार डलरदेखि ८ हजार डलरसम्म भुक्तानी गरेको पाइएको दूतावासले जनाएको छ । ८ हजार डलरको नेपाली विनिमयदर अनुसार ९ लाख ६० हजार रुपैयाँ हाराहारी हुन्छ ।
नक्कली व्यक्तिलाई परीक्षा दिन लगाएर कोरियाबाट पक्राउमा परी फर्केकाको संख्या नै ५३ पुगिसकेको छ भने कोरिया जाने पर्खाइमा रहेका करिब ५० युवाले पनि नक्कली परीक्षार्थीबाटै भाषा परीक्षा उत्तीर्ण गरेको पाइएको छ ।
ईपीएस भाषा परीक्षाको सेटिङमा संलग्न ५ जना दलालहरू विगतदेखि नै सक्रिय रहेको पनि कोरियाको भनाइ छ ।
नक्कली परीक्षार्थी भेटिएपछि रोजगार अनुमति प्रणाली (ईपिएस) को भाषा परीक्षा नै रद्द हुने अवस्था उत्पन्न भएको छ । नेपालस्थित कोरियाली दूतावासले सूचना जारी गर्दै भाषा परीक्षामा देखिएको अवान्छित क्रियाकलापका कारण यस वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा नहुने सम्भावना रहेको जनाएको छ ।
कोरिया मानवस्रोत विकास विभाग (एचआरडी)ले सञ्चालन गरेको ईपीएसमार्फत कोरिया प्रवेश गरेका ५८ जना नेपालीले अन्य व्यक्तिलाई परीक्षा दिन लगाएको, प्रवेशपत्रमा फोटो परिवर्तन गरेको र नक्कली कागजात पेश गरेको अभियोग लगाउँदै नेपालको रोजगारी गुम्ने चेतावनी दिएको हो ।
यस्ता नक्कली नेपाली परीक्षार्थीलाई सन् २०२० फेब्रुवरीमा पहिचान गरी कोरिया सरकारले गत मार्च र जुन महिनाको अन्त्यमा नेपाल फर्काएको थियो ।
कोरियाको कानुन मन्त्रालय र ईन्छन विमानस्थल अध्यागमन कार्यालयले सन् २०२० अप्रिलमा ईपीएस अन्तर्गत भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अर्कालाई परीक्षा दिन लगाउने कार्यमा संलग्न भएका नेपालका ५ जना दलालसमेत पक्राउ गरे केही समय जेल राखेर नेपाल पठाएको थियो ।
यसरी पक्राउ परेका नेपालीले २०१८ र २०१९ मा नेपालमा सञ्चालन भएको ईपीएस भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अन्य अन्य परीक्षार्थीको माध्यमबाट उच्च अंक प्राप्त गरी कोरिया प्रवेश गरेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया