काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एक महिलाको आक्रोशमिश्रित पीडा चर्चित बनेको छ । प्रहरीले ठेलागाडामा तरकारी राख्न नदिएको तथा ढक तराजु खोसेपछि उनले ठेलागाडामा तरकारी बेच्नु आफ्नो रहर नभइ बाध्यता भएको बताएकी छन् ।
युट्युब च्यानल अन्नपूर्ण अनलाइन टिभीमा प्रशारित ति महिलाको भिडियो टिकटकमा झनै भाइरल भएको छ । आफैं औषधि खाँदै जोखिम मोलेर परिवारको पेट पाल्न सडकमा व्यापार गर्ने ति महिलामाथि प्रहरी ज्यादती र साइकल तथा ठेलागाडा बन्द गर्ने राज्यको नीतिविरुद्ध सामाजिक सञ्जालमा तिब्र आक्रोश छ ।
साइकल र ठेलागाडाले कोरोना संक्रमणको जोखिम बढाएको भन्दै केही सातादेखि राज्यले यसमा प्रतिबन्ध लगाएको छ । जसका कारण हजारौंको रोजीरोटीमात्र गुमेको छैन कि उनीहरुको परिवार नै भोकै पर्ने अवस्था सिर्जना भएको छ ।
तर, यही बेला राज्यले होम डेलिभरीको मापदण्ड तयार गर्दै ठूला लगानीका होटल, रेष्टुरेन्ट सञ्चालकमात्र नभइ इ–कमर्स कम्पनीहरुलाई भने निर्वाध व्यापार गर्न दिएको छ । गरिब स्वरोजगारमाथि निर्मम सरकार सोही प्रकृतिको ई–कमर्सलाई भने इनोभेसनको नाम दिएर संरक्षणमा लागेपछि आक्रोश चुलिएको छ ।
यतिबेला साइकलमा घरघर तरकारी पु¥याउने तथा ठेलागाडामा टोलमा तरकारी र फलफूल बिक्री गर्ने व्यवसाय होम डेलिभरीको परिभाषमा पर्छन् कि पर्दैनन् भन्ने बहस सिर्जना भएको छ ।
पत्रकार अरुणदेव जोशी लेख्छन्ः ठेलामा घर घरमा टोल टोलमा तरकारी पुृर्याउनु पनि ’होम डेलिभरी’ नै हो । ठूला मलले गर्ने डेलिभरी मात्र होइन ।
यस्तै, सामाजिक अभियन्ता ई. भुवन थापाको प्रश्न छः होम डेलिभरी र टेक अवे भनेको के हो ? साइकल र ठेलागाडामा घर घर पुराएर तरकारी बेच्ने होम डेलिभरी हैन ? होम डेलिभरी र टेक अवे मापदण्ड पूरा गरेर संचालन गर्न पाइने तर साइकल ठेलाको तरकारी व्यवसाय उही मापदण्ड पूरा गरेर संचालन गर्न किन नपाइने ? खाली गरिबलाइ मात्र अन्याय । हुनेखानेको सधैं रजाइँ ।
थापाको भनाइप्रति सहमति जनाउँदै पत्रकार जोशी भन्छन्ः सबैभन्दा भरपर्दा होम डेलिभरी साइकलमा तरकारी बेच्नेहरु नै होइनन् र ? घरमै पनि आउने अनि छानी छानी, रोजी रोजी लिन पाइने ?
प्रतिक्रिया