Logo

Banner-news

गलैंचाको पनि कलेक्टिभ ट्रेडमार्कः ‘हिमालयन नेप्लिज कार्पेट’का नाउँमा निकासी हुने


GDP Nepal
   २७ बैशाख २०७८, सोमबार


काठमाडौं । नेपाली गलैंचा अब सामूहिक प्रतीक चिह्न (कलेक्टिभ ट्रेडमार्क)का माध्यमले विश्व बजारमा निकासी हुने भएका छन् । नेपालमा उत्पादित विश्वका विभिन्न मुलुकमा अब गलैंचा ‘हिमालयन नेप्लिज कार्पेट’का नाउँमा निकासी हुने भएको हो ।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको पहलमा तयार भएको यसको सामूहिक प्रतीक चिह्न (कलेक्टिभ ट्रेडमार्क)को अनावरण गत महिना भइसकेको छ ।

निकासी व्यापारका लागि कलेक्टिभ ट्रेडमार्क प्रभावकारी मानिन्छ । यसअघि चिया, कफी, पश्मिना, हातेकागज, जडिबुटीलगायतका उत्पादनले कलेक्टिभ ट्रेडमार्क तयार गरी विभिन्न मुलुकमा दर्ता गरिसकेका छन् ।

नेपालबाट गलैंचा निकासी घट्दो क्रममा रहेकाले व्यवसायीले गुणस्तर कायम राख्दै निकासी वृद्धि गर्ने लक्ष्यसहित कलेक्टिभ ट्रेडमार्क लागू गरेका हुन् ।

संघका अध्यक्ष रामबहादुर गुरुङले विश्व बजारमा हातैले बुनेका नेपाली गलैंचाको माग उच्च रहे पनि छिमेकी मुलुकले नेपाली उत्पादन भन्दै आफ्ना गुणस्तरहीन गलैंचा बिक्री गरिरहेकाले त्यसलाई रोक्न कलेक्टिभ ट्रेडमार्कको अभ्यास गर्न लागिएको जानकारी दिए ।

“हामीले गलैंचाको निकासी बढाउन संगठित र व्यवस्थित अभ्यास गर्न खोजेका हौं,” अध्यक्ष गुरुङ भन्छन्, “कलेक्टिभ ट्रेडमार्कमा गइसकेपछि हामीले गुणस्तर कायम गर्दै अघि बढ्नुपर्ने चुनौती पनि उत्तिकै छ ।”

नेपालबाट दुई दशकअघि वार्षिक ३३ लाख वर्गमिटर गलैंचा निकासी हुने गरे पनि हाल भने वार्षिक सात लाख वर्गमिटरमा सीमित छ । निकासीको सम्भावना उच्च रहे पनि कच्चा पदार्थको उपलब्धता, श्रम बजार महँगो हुनु तथा विदेशी उत्पादनसँग प्रतिस्पर्धाजस्ता कारणले निकासीमा समस्या रहेको व्यवसायीहरु बताउँछन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट कलेक्टिभ ट्रेडमार्कले गलैंचा निकासी वृद्धि हुने सम्भावना रहे पनि उत्पादनको गुणस्तरमा ध्यान नदिए मुलुककै प्रतिष्ठा खस्कने बताउँछन् ।

नेपाली गलैंचाको प्रतिष्ठा अहिलेसम्म उच्च रहेको उल्लेख गर्दै मन्त्री भट्ट यसको निकासी वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राख्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विश्व बजारमा नेपाली गलैंचाले यसअघि नै निकासीको रेकर्ड राखिसकेको उल्लेख गर्दै कलेक्टिभ ट्रेडमार्कले पहिलेकै अवस्थामा फर्काउन मदत पुग्ने बताउँछन् ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह