Logo

Banner-news

खुकुलो निषेधाज्ञामा सार्वजनिक बस र जहाज किन चलेनन् ?


GDP Nepal
   ७ असार २०७८, सोमबार


काठमाडौं । सरकारले निजी सवारीसाधन तथा ट्याक्सी जोरबिजोर प्रणालीमा चलाउन पाउने गरी काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरेको छ ।

सर्वसाधारणलाई घरबाहिर निस्कन पहिलोपटक औपचारिक अनुमति दिइए पनि आफ्नै सवारी नहुनेले कि पैदलै यात्रा गर्नुपर्नेछ अन्यथा सीमित संख्यामा चलेका ट्याक्सीलाई मनोमानी भाडा बुझाउनु पर्ने अवस्था आएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा असार १४ गतेसम्मका लागि बढाइए पनि अब भने सार्वजनिक यातायातमात्र सञ्चालनमा आउनेछन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा थप खुकुलो बनाएको छ । तर, सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्डसहित सञ्चालनको व्यवस्था गरिएको छैन ।

ट्याक्सीले दूरी कायम गर्दै यात्रु राखेर जोरबिजोर प्रणालीमा सेवा दिनसक्ने निर्णय गरिएको छ । यस्तै, आन्तरिक उडानका लागि जहाज भने चलेका छैनन् । सीडीओहरुको बैठकले यस्तो निर्णय गर्न नसक्ने भए पनि यसका लागि सरकारका अन्य निकायहरुको पहलसमेत देखिएको छैन ।

नयाँ निर्णयअनुसार खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू पहिलेकै जस्तो बिहान ११ बजेसम्म खुल्न पाउने छन् ।

अन्य व्यवसायका हकमा भने अब बार तोकेर त्यसअनुसार फरक–फरक पसलहरू पनि खुल्ने भएका छन् ।

प्रशासनको निर्णयअनुसार ग्रोसरी बाहेकका डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी तथा गिफ्ट पसल र टेलरिङ सोमवार, बुधवार र शुक्रवार खुल्न पाउने भएका छन् ।

सुनचाँदी, भाँडा, भान्छाजन्य सामान, विद्युतीय घरायसी सामान, सवारीसाधन बिक्री कक्ष, सवारीसाधनका पार्टपुर्जाहरू, विद्युतीय सामग्रीहरू बिक्री गर्ने पसललगायतका लागि आइतवार, मङ्गलवार र बिहीवारको दिन तोकिएको छ ।

निर्माणजन्य सामग्रीका पसलहरू (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर र कार्पेट) का लागि भने वार तोकिएको छैन । यस्ता पसलहरू बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् ।

यस्तै, बैंक तथा वित्तिय संस्थाहरूले पनि स्वास्थ्य मापदण्ड अपनाएर न्यूनतम जनशक्तिमा सेवा दिन पाउनेछन्।
पसलहरू खोल्दा कम्तिमा २ मिटरको दूरी कामय गर्नुका साथै स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने र त्यस्तो गरिएको नपाइए पसललाई तत्कालै बन्द गराइने पनि जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे र होम डेलिभरी सेवा साँझ ७ बजेसम्म चलाउन पाइनेछ ।

प्रकाशित : ७ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह