काठमाडौं । कोभिड महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी छाइरहे पनि काठमाडौंमा नयाँ पाँचतारे होटल सञ्चालनमा आएको छ । काठमाडौंको ताहचलमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको हो ।
करिब ५ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको हायात प्लेसमा औद्योगिक घराना गोल्याण समूह लगायतको लगानी रहेको छ । करिब एक दशकअघि सुविधासम्पन्न अपार्टमेन्ट बनाउने भन्दै निर्माण थालिएको भवनलाई होटलमा रुपान्तरण गरिएको हो ।
शनिबार होटलमा आयोजित कार्यक्रममा होटलका प्रवर्द्धक पवन गोल्यानले होटल सञ्चालनमा आएको जानकारी दिए । २०७२ मा भूकम्पपछि अपार्टमेन्ट निर्माण गर्ने योजनालाई त्यागेर होटल बनाउने निर्णय गरिएको थियो ।
१० रोपनी क्षेत्रफलमा फैलिएको होटलसँगै अर्को भवन पनि छ । जुन अपार्टमेन्टका रुपमा प्रयोग गरिएको छ । शुरुमा ४ अर्ब लगानी गर्ने योजना भए पनि कोरोना महामारीका कारण निर्माणले गति नलिँदा रकम बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको होटलका अध्यक्ष शक्ति गोल्यानले बताए ।
हायत अन्तर्राष्ट्रिय चेन होटल हो । यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ ।
होटल व्यवस्थापनको जिम्मा हायात प्लेसले लिएको छ । सन् २०१६ देखि निर्माण शुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो ।
होटलका अध्यक्ष शक्ति गोल्यानले होटलले करिब पाँच वर्षमा होटल ब्रेकइभनमा आउने प्रक्षेपण रहेको बताए ।
होटलमा कूल १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । त्यसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा पनि छ । भवनको २ तला बेसमेन्ट छ । जुन पार्किङका लागि छुट्याइएको छ । त्यसपछिको तलामा लबी छ । जहाँ नेपालीपन झल्कने गरी कलाकृति देख्न सकिन्छ । लबीसँगै रेष्टुराँ र कन्फ्रेन्स हल पनि छ । कन्फ्रेन्स हलमा ४ सय जनासम्म अटाउन सक्छन् ।
साथै होटलको पहिलो तला सर्भिसका लागि हुनेछ भने दोस्रो तलामा स्वीमिङसँगै रेष्टुराँ र बारको सुविधा छ । जहाा केटाकेटीदेखि वयस्कसम्मका लागि लक्षित गरिएको छ ।
त्यसभन्दा माथिका तलाका रुमहरु पाहुनाका लागि हुनेछन् । ७ वटा टेरेससहितका रुममा हरियाली गार्डेनको सुविधा हुनेछ । प्रत्येक रुम ३० वर्गफिट क्षेत्रफलमा फैलिएका छन् । टेरेससहितका रुमहरु ४८ वर्गफिट क्षेत्रफलमा फैलिएका छन् ।
प्रतिक्रिया