Logo

कर्पोरेट-बजार

क्यान इन्फोटेक सुरु, एक रुपैयाँमै प्रवेश टिकट


GDP Nepal
   ७ बैशाख २०७९, बुधबार


काठमाडौं । सूचना प्रविधिजन्य सामग्रीहरुको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक बुधबारदेखि राजधानीमा सुरु भएको छ । कम्युटर अशोसिएसन नेपाल (क्यान) महासघंको आयोजनामा बर्सेनी हुने मेला कोभिड महामारीका कारण पछिल्ला दुई वर्षमा भने हुन सकेको थिएन । क्यान इन्फोटेकको यो २७ औं संस्करण हो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरका अनुसार ६ दिनसम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १७० स्टल छन् । मेलामा चार लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाको शीर्ष प्रायोजक आईएमई पेले एक रुपैयाँमै टिकट काट्ने सुविधा दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इन्फोटेकको उदघाटन गरे । मन्त्री कार्कीले निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा आईसीटी क्षेत्रको विकास विस्तारमा सरकारले काम गरिरहेको बताए । क्यान महासंघले सूचना प्रविधिको प्रवर्दधन तथा चेतना विस्तारमा उल्लेख्य भूमिका खेलेको उनको भनाइ छ ।

सरकार पनि सूचना प्रविधिको प्रयोगका लागि सचेत रहेको मन्त्री कार्कीको भनाइ छ । “सरकारी कार्यालयलाई पेपरलेस बनाउने अभियान थालिएको छ र यसको सुरुवात सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट भएको छ,” उनले भने ।

यस्ता छन् मेलाका आकर्षण
यस वर्षको क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, ई–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका खण्ड समावेश छन् ।

मेलामा सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध रहेका छन् ।

आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहेका छन् ।

क्यान महासंघका अध्यक्ष कुँवरले यसपटक ब्राण्डिङका साथै स्टार्टअप र इनोभेसनको प्रवर्द्धनलाई विशेष जोड दिइएको बताए ।

मेलाको अवसर पारी कम्पनीहरूले छुट तथा अफर समेत घोषणा गरेका छन् ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह