Logo

कर्पोरेट-बजार

आत्मनिर्भर प्लास्टिक उद्योगः निकासीका लागि तम्तयार उद्योगी (फोटोफिचर सहित)


GDP Nepal
   १३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौं । नेपाल प्लास्टिकजन्य वस्तु उत्पादनका क्षेत्रमा आत्मनिर्भर भइसकेको व्यवसायीहरुले बताएका छन् । प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने करिब ५ सय उद्योगमा व्यवसायीले ३० अर्बभन्दा बढी लगानी गरिसकेका छन् ।

वार्षिक दुई लाख ७५ हजार टन प्लास्टिक नेपालमा खपत हुने गरेको छ । प्रायः फिनिस वस्तुमा नेपाल आत्मनिर्भर भएको उद्यागी–व्यवसायीहरूको भनाइ छ ।

प्लाष्ट नेपाल फाउन्डेसनका अध्यक्ष राहुलकुमार अग्रवालका अनुसार प्लास्टिकजन्य नेपाली उद्योगहरु विदेशी उत्पादनसँग प्रतिस्पर्धाका लागि सवल र सक्षम भइसकेका छन् । अझै पनि केही प्लास्टिकजन्य वस्तु आयात भइरहेको उल्लेख गर्दै अग्रवाल आयात प्रतिस्थापनका लागि स्वदेशी वस्तु खपत बढाउनुपर्ने बताउँछन् ।

वागमती प्लास्टिकका निर्देशक पंकज राठी नेपाली उत्पादन गुणस्तरीय रहेको र अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम रहे पनि निकासीका लागि नीतिगत समस्या रहेको बताउँछन् । प्लास्टिक उद्योगमा अन्तशुल्क लगाइएका कारण समस्या रहेको उल्लेख गर्दै वातावरणीय प्रदूषण कम गर्न पुनप्रयोग गर्दै आएको उनको भनाइ छ ।

इन्टरटेक ग्रुप (आईटीपीएफ)का निर्देशक विनीत अग्रवाल निकासीका लागि आफूहरु पूर्ण सक्षम भइसके पनि सरकारी सहयोग आवश्यक रहेको बताउँछन् । स्वदेशमै पनि टेन्डरका विभिन्न प्रावधानका कारण विदेशी उत्पादन भित्रिरहेको उल्लेख गर्दै अग्रवाल भन्छन्, “सरकारले भएकै नीतिहरु कार्यान्वयन गरेर भए पनि स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ ।

हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधान भन्छन्, “प्रविधिको पछिल्लो विकाससँग साक्षात्कार गर्दै समयानुकूल नीति तर्जुमा गर्न सके नेपाली उद्योगको प्रवद्र्धन गर्न सकिन्छ र यसले आयात प्रतिस्थापन सम्भव छ ।” प्रधानका अनुसार मेसिनरी र कच्चा पदार्थबाहेक तयारी वस्तु आयातमा कडाइ नगरी नेपाली उद्योगको प्रवर्द्धन सम्भव छैन ।

फाउन्डेसनले एकै थलोमा प्लास्टिकजन्य वस्तुको जानकारी दिने उद्देश्यले बिहीबारदेखि भृकुटीमण्डपमा प्लास्ट एक्स्पो सञ्चालन गरिरहेको छ । विदेशी र नेपाली गरी कुल ९५ वटा स्टल रहेको एक्स्पोमा नेपालमा उत्पादन हुने प्लास्टिकजन्य वस्तुहरूको प्रदर्शनी तथा यससँग सम्बन्धित विभिन्न पक्षबारे छलफल र अन्तरक्रिया समेत भइरहेको छ ।

एक्सपोमा प्लास्टिक उत्पादनका लागि प्रयोग हुने प्रविधि तथा ज्ञानको बारेमा जानकारी प्रदान गर्ने विभिन्न डेमोहरु पनि राखिएका छन् ।

प्लास्ट नेपाल फाउन्डेसन नेपालमा प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगी–व्यवसायीहरूको छाता संगठन हो ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह