Logo

कर्पोरेट-बजार

दाताको सहयोगबिनै होटलले सुरु गरे प्लास्टिकजन्य सामग्री हटाउने अभियान


GDP Nepal
   १८ जेष्ठ २०७९, बुधबार


काठमाडौं । वातावरणीय प्रदूषणका मुख्य कारक मानिएको प्लाष्टिकजन्य फोहर नियन्त्रणका लागि होटल व्यवसायीहरु आफैं अग्रसर भएका छन् ।

होटल संघ नेपाल (हान)को अगुवाईमा मुलुकका होटलहरुबाट पुनः प्रयोग गर्न नमिल्ने खालका प्लाष्टिकजन्य सामग्री प्रयोगमा नल्याउने अभियान सुरु भएको छ ।

नेपालमा प्लास्टिकजन्य सामग्री प्रयोग हटाउने कार्यक्रम दाताकेन्द्रित भइरहेका बेला निजी क्षेत्रले स्वस्फूर्त यो कार्यक्रम सुरु गरेको हो ।

अभियान अन्तर्गत होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काँइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्ने छैनन् ।

एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरु मूख्य रहेका छन् ।

आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ ।

हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमशः सबै होटलमा कार्यान्वयन हुनेछ । हान अध्यक्ष सृजना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालिएको बताइन् ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले आगामी दुई वर्ष भित्र नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि नै फ्याँक्नु पर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द भइसक्ने दाबी गरे ।

जलवायु परिवर्तनप्रति सचेतता अपनाउँदै यो अभियान प्रारम्भ गरिएको शाहले जानकारी दिए । “यो कुनै व्यापारिक अभियान होइन, कुनै विदेशी दाता हाम्रो साथमा हुनुहुन्न,” उनले भने, “हामी नेपाल सरकारको प्लास्टिकमुक्त अभियानमा सहभागी भएका हौं ।”

हानको यो अभियानलाई होटल व्यवसायी महासंघ, होमस्टे एसोसिएसन, हानका क्षेत्रीय समितिहरुले पनि सथ दिएका छन् ।

जलवायु र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति हामी सचेत हुनु आवश्यक रहेको छ तथा हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरुरी रहेको तथ्यलाई मनन् गर्दै होटल संघ नेपालले यो अभियान सुरु भएको जनाएको छ ।

संघले सदस्य होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको छ ।

यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने गरिमा उँचो हुने विश्वास लिएको हानको भनाइ छ ।

विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्य अभियानले लिएको प्रथम उपाध्यक्ष शाह बताउँछन् ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले मोफसलका होटलमा पनि यस्तो अभ्यास गरिने बताए । वातावरणमैत्री पर्यटनको विकासले दिगो पर्यटनको आधार तयार हुने उनको भनाइ छ ।

हानका अनुसार होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको जनाइएको छ ।

संघका अनुसार अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ । विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह