Logo

मुख्य समाचार

महासंघमा धेरै काम बाँकी छन्, चुनावी क्याम्पेनमा हतार गर्दिनँः मनिषलाल प्रधान


GDP Nepal
   १५ असार २०७९, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै जाँदा नेतृत्वका आकांक्षीहरुको दौडधुप पनि बढेको छ । चैत अन्तिम साता हुने महासंघ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले व्यावसायिक वृत्तमा चुनावी माहौल बढ्न थालेको छ ।

महासंघमा वस्तुगत क्षेत्रतर्फका उपाध्यक्षका उम्मेदवार मानिएका मनिषलाल प्रधान भने अहिल्यै उम्मेदवारी घोषणा गर्नु हतार हुने बताउँछन् । महासंघमा तेस्रो कार्यकाल कार्यकारिणी समिति सदस्यमा निर्वाचित प्रधान हाल निर्यात प्रवर्द्धन समिति सभापति पनि हुन् ।

“चैतमा हुने महासंघ निर्वाचन आउन अझै ९ महिना बाँकी छ,” प्रधान भन्छन्, “मेरो बिचारमा चुनावी कुरा गर्ने समय बेला भएको छैन किनकी हामीले अझै धेरै काम गर्न बाँकी छ ।”

प्रधानले महासंघ पदाधिकारीहरु निर्वाचनमा केन्द्रित हुँदा व्यवासायीका समस्या ओझेलमा पर्ने गरेको विगतको तीतो अनुभवबाट पाठ सिक्दै अर्थतन्त्रको अहिलेको संकटसँग एकताबद्ध भएर जुध्नुपर्ने आवश्यकता औंल्याए । जीडीपीनेपाल अनलाइनसँग कुरा गर्दैै प्रधानले भने, “म निर्यात प्रवर्द्धन समिति सभापति भएकाले यस क्षेत्रमा पनि केही नीतिगत काम बाँकी नै छन् भने सरकारी अधिकारीहरुलाई संवाद गरेर कन्भिन्स गर्ने तथा केही सेमिनारहरु पनि पाइपलाइनमा छन् ।”

आफूजस्तै महासंघका विभिन्न क्षेत्रगत समिति सभापतिहरुले गर्नुपर्ने धेरै काम बाँकी रहेकाले अहिल्यै चुनावी चर्चा परिचर्चाले व्यवसायीका समस्या ओझेलमा नपरुन् भनेर आफू चिन्तित रहेको उनी बताउँछन् ।

निर्यात समिति सभापति प्रधान महासंघका आफ्नो तेस्रो कार्यकाल भइसकेका कारणले पनि नेतृत्वमा स्वाभाविक दावी रहने बताउँछन् । “तेस्रो कार्यकाल सदस्य भइसकेका हिसाबले साथीहरुको प्रेसर पनि छ, म आफैं पनि सल्लाह गर्दैछु,” उनी भन्छन्, “इख नभएको मान्छे र बिख नभएको सर्प काम लाग्दैन भन्ने मैले पनि बुझेको छु ।”

आफू महासंघ नेतृत्वको आकांक्षी भए पनि यसका लागि अस्वस्थ प्रतिस्पर्धा तथा अमर्यादित गतिविधिबाट आफूलाई टाढा राख्ने प्रधान बताउँछन् ।

“मेरो पनि नेतृत्वमा पुग्ने इच्छा चाहना छ र त्यसका लागि मैले आन्तरिक तयारी पनि गरिरहेकै छु,” उनी भन्छन्, “त्यसका लागि नेतृत्वमा म पुग्नैपर्छ, म नपुगे संस्था डुब्छ भन्ने घमन्ड मभित्र छैन तर मैले त्यहाँ पुगेर राम्रो काम गर्न सक्छु भन्ने दृढ आत्मविश्वास पनि छ ।”

प्रकाशित : १५ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह