Logo

अर्थनीति

अर्थ मन्त्रालय सम्हालेको माओवादीकै नेतृत्वले स्वीकार्‍यो: गम्भीर आर्थिक संकटका संकेत देखिए !


GDP Nepal
   १९ असार २०७९, आइतबार


काठमाडौं । मुलुकको अर्थतन्त्रको बागडोर अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहेको सत्तारुढ नेकपा माओवादी केन्द्रले नै मुलुकमा गम्भीर आर्थिक संकटका संकेतहरु देखिएको स्वीकार गरेको छ ।

माओवादी केन्द्रीय समितिको आइतबारदेखि राजधानीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा मुलुकको आर्थिक अवस्थाको चित्रण गर्दै आर्थिक संकटका संकेतहरु देखिएको उल्लेख छ ।

“देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन्, सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन्,” दाहालको प्रतिवेदनमा भनिएको छ, “ महंगी आकाशिंदो छ, जसका कारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ । आर्थिक असमानता, गरिबी र बेरोजगारी पनि बढेर गएको छ ।”

अध्यक्ष दाहालको प्रतिवेदनमा नेपाली अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको उल्लेख गर्दै अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हावी रहेको जनाइएको छ ।

कोभिड–१९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएको उनले भनेका छन् ।

“आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको छ, व्यापार घाटा १५ खर्ब ७ अर्ब पुगेको छ भने विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा छ,” दाहालले भनेका छन्, “पुँजीगत खर्च लक्ष्यभन्दा अत्यन्तै कम छ । महंगी आकाशिंदो छ, जसका कारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ ।”

प्रकाशित : १९ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह