Logo

अर्थनीति

औद्योगिक प्रतिष्ठानका कर्मचारीको मासिक औषत तलब २३ हजार ५५५ रुपैयाँ


GDP Nepal
   २५ असार २०७९, शनिबार


काठमाडौं । मुलुकका औद्योगिक प्रतिष्ठानमा ३ लाख ८१ हजार ६८७ जना तलबी कामदार कार्यरत रहेका छन् भने यी कामदारले वार्षिक १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ तलब बुझ्ने गरेको पाइएको छ ।

राष्ट्रिय औद्योगिक सर्भेक्षण २०७६ को राष्ट्रिय तहको नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले यस्तो जानकारी दिएको हो । विभागको तथ्यांकलाई आधार मानेर औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको तलब हिसाब गर्ने हो भने प्रतिकर्मचारी वार्षिक २ लाख ८२ हजार ६६६ रुपैयाँ अर्थात मासिक २३ हजार ५५५ रुपैयाँ रहेको छ ।

विभागले खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत ग्यास बाफ तथा वातानुकुलित सेवा र पानीको आपूर्ति ढल निकास फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरु गरी चार प्रकारमा औद्योगिक वर्गीकरण गरेको थियो ।

विभागका अनुसार यी चारवटै प्रकारका उद्योग प्रतिष्ठानहरुमा रहेका तलवी कामदारको संख्या ३ लाख ८१ हजार ६८७ रहेको छ ।

खानी तथा उत्खनन् क्षेत्रमा ५ हजार ७१९ जना, औद्योगिक उत्पादनशिल क्षेत्रमा ३ लाख ४६ हजार १४३ जना, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार २३८ जना र पानीको आपूर्ति; ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार ५८७ जना कामदार कार्यरत रहेको पाइएको छ ।

यी क्षेत्रका औद्योगिक प्रतिष्ठानमा रहेका तलवी कामदारहरुको लागि तलब ज्याला र सुविधामा गरेको जम्मा खर्च १ खर्ब ७ अर्ब ८९ करोड खर्च भएको छ भने यसमध्ये खानी तथा उत्खनन् क्षेत्रमा करिब १ अर्ब ८० करोड र औद्योगिक उत्पादन क्षेत्रमा करिब ९५ अर्ब ७७ करोड खर्च भएको छ ।

यस्तै, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा करिब ६ अर्ब ९२ करोड र पानीको आपूर्ति; ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा करिब ३ अर्ब ४० करोड रकम कामदारको तलव÷ज्याला तथा सुविधामा खर्च भएको देखिएको छ ।

औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुले करिब ८ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिब १२ खर्ब १ अर्ब १७ करोड मूल्य बराबरको बस्तु तथा सेवा उत्पादन गरेको देखिन्छ ।

यस हिसावले यी चारवटै क्षेत्रका औद्योगिक प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा करिब ३ खर्व ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि पाइएको छ ।

औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ती रहेको देखिएको छ ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह