Logo

अर्थनीति

भारतको विशेष स्वीकृतिमा खुल्यो गहुँ र चिनी आयात, व्यापारीसँग प्रस्ताव मागिँदै


GDP Nepal
   २० श्रावण २०७९, शुक्रबार


काठमाडौं । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको गहुँ नेपाललाई भने विशेष स्वीकृतिमा निकासी गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली व्यापारीसँग आयातका लागि प्रस्ताव माग गरेको छ ।

गहुँको अभावमा चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिन लगायतका उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि सरकारले कुटनीतिक पहल गरी भारतबाट गहुँ आयात सुरु गर्न लागेको हो ।

नेपालीहरुका मुख्य चाडपर्व दशैं तिहार छठमा चिनी र मैदा, पीठोजस्ता अत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कुटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयातकर्तासँग प्रारम्भिक चरणको आशयपत्र माग गरेको छ । जसमा कम्पनीको नाम, भारतबाट खरीद गर्ने उद्योगको विवरण, आायत गर्नुको उद्देश्य, कुन नाकाबाट ल्याउने हो सो को विवरण लगायत उल्लेख गर्नुपर्नेछ ।

यस्तै, कति परिमाणमा ल्याउने हो, यसको मूल्य तथा कुन मितिसम्म ल्याइसक्ने लगायतका विषयहरु समावेश गरी मन्त्रालयमा निवेदन दिनुपर्ने जनाइएको छ ।

उद्योग व्यवसाय दर्ता गरेका, कर चुक्ता प्रमाण पत्र लिएका, आयात तथा निर्यात गर्न इजाजतपत्र लिएका, प्रचलित कानून बमोजिम क्वारेन्टिन लगायतका इजाजतपत्र लिएका व्यवसायीसँग सरकारले गहुँ र चिनी आयात गर्न आसयपत्र मागेको छ ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ । तर, व्यवसायीले पहिलेजसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको वैशाखसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात भएको थियो । तर, जेठदेखि आयात आयात ठप्प छ । रुस र युक्रेनबीच युद्ध बढेसँगै संसारभर खाद्य संकट सुरु हुने चर्चाबीच भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह