Logo

मुख्य समाचार

निजी क्षेत्रबाट एकै वर्ष ७१७ मेगावाट विद्युत् उत्पादन, हालसम्म १५३२ मेगावाट !


GDP Nepal
   १ भाद्र २०७९, बुधबार


काठमाडौं । निजी क्षेत्रले गत आर्थिक वर्षमा हालसम्मकै उच्च परिमाणमा विद्युत् उत्पादन गर्न सफल भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आव २०७८/७९ मा निजी क्षेत्रबाट ७१७ मेगावाट बराबरका २४ जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भएका छन् ।

यससँगै निजी क्षेत्रबाट १५३२ मेगावाट बराबरको १३२ जलविद्युत केन्द्रहरू सञ्चालनमा आएका छन् ।

जसमा प्राधिकरणका सहायक कम्पनीहरूबाट सञ्चालित ४७८ मेगावाट बराबरका जलविद्युत केन्द्रहरू समेत समावेश छ ।

निजी क्षेत्रले वित्तीय व्यवस्थापन गरी जम्मा १४१ वटा आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन्, जसको कुल जडित क्षमता ३२८१ मेगावाट रहेको छ । त्यस्तै १५५३ मेगावाटका ८४ आयोजनाहरू विकासका विभिन्न चरणमा रहेका छन् ।

आ.व. २०७८/७९ मा कुल १४५ मेगावाट क्षमताका ७ जलविद्युत आयोजनाहरू र ३८ मे.वा क्षमताका ५ सौर्य विद्युत आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रसँग प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता गरेको आयोजनाहरूको संख्या ३५७ र क्षमता ६ हजार ३६६ मेगावाट पुगेको छ ।
विश्वव्यापी रूपमा तथा छिमेकी राष्ट्रहरूमा समेत सौर्य विद्युत प्लान्टबाट उत्पादित ऊर्जाको मूल्य दिनानुदिन घट्दै गइरहेको हुँदा प्राधिकरणले अधिकतम मूल्य प्रति युनिट ५ रुपैयाँ ९४ पैसा रहने गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट सौर्य विद्युत ऊर्जा खरिद गर्ने निर्णय गरेको छ ।

बोलपत्र दस्तावेज तयार भइसकेकोले विद्युत नियमन आयोगबाट सहमति प्राप्त हुनासाथ प्रस्ताव आह्वान गरिने उल्लेख छ ।

पिकिङ रन अफ रिभर आयोजनाबाट उत्पादन हुने विद्युत खरिद सम्झौतालाई प्राधिकरणले प्राथमिकतामा राखेको जनाइएको छ ।

रन अफ रिभर परिमाण अधिकतम ४५ प्रतिशत
नेपाल सरकारबाट उत्पादन मिश्रणको अनुपात हेरफेर गरी रन अफ रभर जलविद्युत आयोजनाको परिमाण अधिकतम ३५ प्रतिशतबाट अधिकतम ४५ प्रतिशत कायम गरेको छ ।

यस्तै, जलाशययुक्त तथा पम्प स्टोरेजको परिमाण घटाई १० प्रतिशत कायम भएकोले सोही अनुपातमा आवश्यक नीतिगत परिवर्तन गरी रन अफ रिभर जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता गर्ने गृहकार्य प्राधिकरणले गरिरहेको जनाइएको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह