काठमाडौं । काठमाडौंको चक्रपथ क्षेत्र बाहिर सडक पहुँच पुर्याइ जनजीवनलाई सहजीकरण गर्ने उद्देश्यले सरकारले अघि सारेको बाहिरी चक्रपथ निर्माण आयोजना दुई वर्षदेखि चर्चामै सीमित छ ।
सरकारले २०५८ सालमा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो ।
काठमाडौं उपत्यकामा ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण गर्ने अवधारणा ल्याएकोमा २१ वर्ष व्यतीत हुँदा पनि संभाव्यता अध्ययन बाहेक अन्य कार्य नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
आयोजनामा २०७७–७८ सम्म १३ करोड ४८ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
बाहिरी चक्रपथको कार्य अधुरै रहेको अवस्थामा सरकारले २०७३–७४ मा सोही क्षेत्र समेट्ने गरी स्मार्ट सीटीको अवधारणा ल्याएको छ ।
“हालसम्म विस्तृत आयोजना प्रतिवेदन तयार नभएकोले आयोजनाको अवधि निश्चित छैन। यो वर्ष करारका कर्मचारीको तलब भत्ता र कार्यालय सञ्चालनमा १ करोड १३ लाख ८ हजार खर्च बाहेक अन्य कार्य भएको देखिंदैन,” महालेखाले भनेको छ ।
महालेखाले प्राथमिकतामा रहेको यो आयोजना सञ्चालन मोडालिटी तयार गरी कार्यान्वयन गर्नुपर्ने भनेको छ ।
सरकारी अधिकारीहरुका अनुसार अब बाहिरी चक्रपथको निर्माण करिब असम्भवप्रायः देखिएको छ ।
चक्रपथ बाहिर स्वस्फूर्त रुपमा विस्तार भएको बजार तथा जग्गाको मूल्यवृद्धिका कारण आयोजना महँगो हुने भएकाले सरकारी स्तरबाट अब बाहिरी चक्रपथ निर्माण असम्भव देखिएको हो ।
प्रतिक्रिया