Logo

अर्थनीति

टेलिकमले अपर तामाकोशीको कर्जामा ब्याज किन घटायो ? महालेखा भन्छः औचित्य पुष्टि हुँदैन !


GDP Nepal
   ५ असार २०८०, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले अपर तामाकोशी हाइड्रोपावरमा गरेको लगानीको ब्याज घटाइँदा कम्पनीलाई ठूलो नोक्सानी भएको छ । टेलिकमले तामाकोशी परियोजनाका लागि प्रवाह गरेको कर्जाको ब्याजदर गत आर्थिक वर्ष (२०७८÷७९)मा घटाएको थियो ।

टेलिकमले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा लगानी गरेको कर्जाको ब्याजदर अघिल्लो आर्थिक वर्षसम्म १०.५ प्रतिशत रहेकोमा गत आवदेखि ९.५ प्रतिशतमा भारेको छ ।

अन्य वित्तीय साझेदारले समेत घटाएकोले ब्याजदर घटाएको टेलिकमको दावीसँग महालेखा भने सन्तुष्ट छैन ।

“संशोधित ब्याजदर पनि वाणिज्य बैङ्कहरूले दिने औसत ब्याजदरसँग मेल खाने देखिँदैन,” महालेखाले ६० औं प्रतिवेदनमा भनेको छ, “त्यसैले ब्याजदर घटाउनुको औचित्य पुष्टि हुन सकेन ।”

यस्तै, महालेखाका अनुसार वाणिज्य बैङ्कद्वारा १८ अक्टोबर २०२१ मा प्रस्ताव गरेको मुद्दती निक्षेप ब्याज दर १६ डिसेम्बर, २०२१ सम्मको लागि १०.३१ प्रतिशत थियो । कम्पनीले उक्त बैङ्कमा २३ नोभेम्बर, २०२१ मा ६ महिनाको लागि ९.१५ प्रतिशत ब्याज दरमा रू. २५ करोड मुद्दती निक्षेप राखेको पाइएको छ ।

जसका कारण कम्पनीले १४ लाख ५० हजार घाटा व्यहोरेको देखिन्छ । उक्त बैङ्कमा मुद्दती निक्षेपमा कुल लगानी ४ अर्ब ९० करोडसम्म रहेको छ । लगानी गर्नुअघि लगानी नीति अनुसारको सीमालाई ध्यानमा राखी बैङ्कको क्षमताको समेत मूल्याङ्कन गर्नुपर्ने देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले ८.५ प्रतिशत ऋणपत्रमा ७१ करोड ६ लाख ७३ हजारको १० वर्षको लागि लगानी गरेको छ भने विगत वर्षहरूमा त्यस्तो लगानी १० देखि १०.५० प्रतिशतमा गरेको देखिन्छ ।

कम्पनीलाई अल्पकालीन दायित्वमा पर्ने नगद आवश्यकताको व्यवस्थापछि बाँकी रहेको रकम सुरक्षित र उचित प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह