Logo

बिजनेस होम

आफ्नो प्रमाणपत्र नक्कली नभएको भन्दै पर्यटन बोर्डका निर्देशक गौतमद्वारा समाचारको खण्डन (पत्रसहित)*


GDP Nepal
   ११ भाद्र २०८०, सोमबार


काठमाडौं । नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले जीडीपी नेपाल अनलाइनमा एक वर्षअघि प्रकाशित एक समाचारको खण्डन पठाउँदै उक्त समाचारले आफ्नो मानमर्दन गरेको टिप्पणी गरेका छन् ।

२०७९ भदौ २३ मा प्रकाशित ‘पर्यटन बोर्डका निर्देशकको नक्कली प्रमाणपत्र, अख्तियारको पत्र बोर्डले लुकायो’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै निर्देशक गौतमले समाचारमा मिडियाले आफूलाई अदालत जसरी नक्कली करार गर्ने कुचेष्टा गरेको आरोप लगाएका छन् ।

जीडीपी नेपालले हालसम्म कुनै समाचार दोहोर्याएर प्रकाशन तथा प्रशारण नगरेको र कुनै समाचार सामाजिक सञ्जालमा बुष्ट नगरेको भए पनि उनले सो समाचारलाई दोहोर्याएर प्रकाशन गरेको तथा सामाजिक सञ्जालमार्फत बुष्ट गरिएको आरोप लगाएका छन् ।

गौतमले समाचारलाई दुर्नियत र प्रायोजितको संज्ञा पनि दिएका छन् ।

गौतमले पठाएको खण्डनको पूर्णपाठ:

मितिः २०८०।५।८

श्री सम्पादक,
www.gdpnepal.com

काठमाडौं ।

विषयः खण्डन सम्प्रेषण सम्बन्धमा ।

प्रस्तुत सम्बन्धमा मिति २०७९।५।२३ मा “पर्यटन बोर्डका निर्देशकको नक्कली प्रमाणपत्र, अख्तियारको पत्र बोर्डले लुकायो” भन्ने शिर्षक राखी सम्प्रेषित सामग्रीका विषयमा मेरो खण्डन देहाय बमोजिम रहेको छ । साथै मेरो खण्डन जस्ताको तस्तै, विना तोडमरोड क्षमायाचना सहित सम्पे्रषण गर्न अनुरोध गर्दछु ।

१) पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, सिद्धान्त र नियम अनुसार कुनै पनि समाचार प्रकाशन गर्नु भन्दा पहिले सम्बन्धित व्यक्तिसंग अनिवार्य रुपमा बुझ्नु पर्दछ । यस समाचारको विषयमा म संग एक पटक पनि सोध्ने कार्य गरिएन । मैले आफै सम्पादकसंग सम्पर्क गर्दा निजबाट “I’m On The Way” भन्ने म्यासेज प्राप्त भएको (सो म्यासेज मसंग अहिले पनि सुरक्षित छ) । त्यसपश्चात् मलाई एक पटक पनि सम्पर्क गरिएन, बरु उक्त भ्रामक समाचार दोहोर्‍याएर प्रकाशन गर्ने काम भयो, र एउटै समाचारलाई सामाजिक सञ्जाल मार्फत पनि बुस्ट गर्ने एवं प्रचार गर्ने दुर्नियत देखियो । यसबाट उक्त समाचार प्रायोजित र दुर्नियतबाट प्रकाशित भएको प्रमाणित हुन्छ ।

२) उक्त समाचारमा आफै अदालत भए जसरी “नक्कली“ करार गर्ने कुचेष्टा देखिन्छ, जो कुरा पत्रकारितामा कल्पना पनि गर्न सकिदैन ।

३) उक्त समाचारको प्रथम अनुच्छेदमै दुराशय प्रष्ट हुन्छ जसमा भनिएको छ “तेश्रोपटक विभागीय मन्त्रीको सचिवालयमा जाने प्रयास गरिरहँदा“ । उक्त पत्रिकालाई सचिवालयमा जाने प्रयास भएको भन्ने गलत समाचार कसले भन्यो र को संग यो कुरा पुष्टि गरियो ?यो नितान्त मन्त्रीसंग जोड्दा मन्त्रीसंगको सम्बन्ध विग्रन्छ भन्ने मनसायबाट आएको प्रष्ट हुन्छ ।

४) उक्त समाचारको तेश्रो अनुच्छेदमा गलत, भ्रामक वाक्यांश “…अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगले ‘पर्यटन बोर्ड सञ्चालक समितिले नै छानबीन गर्नु‘ भनेर लेखि पठाएको छ“ भनि ठाडै गलत र तथ्यहिन वाक्यांंस आफै सृजना गरि लेखिएको छ । यसबाट नभएको वाक्यांस थपघट गरि गलत सूचना दिने अधिकार यस पत्रिकालाई कस्ले दियो ?

५) पत्र लुकाएको सम्बन्धमा उक्त पत्र को संग मागिएको थियो, र कसले दिएन, त्यो कुरा उल्लेख हुन पर्छ कि पर्दैन ?

६) मैले पेश गरेको भनिएका अनुभवको प्रमाणपत्र कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्डको हवाला दिएर बद्नियत साथ प्रमाणपत्र नै नहेरी उक्त कम्पनी कन्चन टुर्स एण्ड ट्राभल्स २०५८।१२।१९मा दर्ता भएको भनी झुटा दावी गरिएको छ । कम्पनी दर्ता प्रमाणपत्र यस अनलाइनले कहिले देख्यो ?

७) कानुनी रुपमा दर्ता भएको कम्पनीमा जिम्मेवार पदाधिकारीले हस्ताक्षर गरि प्रदान गरिएको प्रमाणपत्र लाई नक्कली करार गर्ने अधिकार यस अनलाइनलाई कसले दियो ? यसरी प्रायोजित रुपमा समाचार लेख्न पाइन्छ ? उक्त भ्रामक समाचार संग प्रकाशित कम्पनी रजिष्ट्रारको कपी शेयरहोल्डर थपिए पछिको कागज हो कि भनेर एक पटक जान्ने प्रयास कहिले गरियो ?

८) उक्त समाचारको अन्तिम भन्दा पहिलो अनुच्छेदमा नेकपा एमालेको महासचिवसंग जोडेर असान्दर्भिकरुपमा मलाई बद्नाम गर्ने र उक्त व्यक्तित्वसंग मेरो सम्बन्धमा तिक्तता ल्याउने कुन्सित मनसाय छर्लङ्ग हुन्छ । यो विषय गलत र भ्रामक रहेको छ, यसमा पत्रकारीता जस्तो पवित्र पेशालाई दुषित बनाउने अभिष्ट प्रमाणित हुन्छ ।

तसर्थ, यस्तो प्रकारको भ्रामक र प्रायोजित समाचार सम्प्रेषण गरेकोमा क्षमा याचना सहित खण्डन होस ।

निबेदक

लक्ष्मण गौतम
पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धन महाशाखा
नेपाल पर्यटन बोर्ड, भृकृटीमण्डप, काठमाडौं ।

बोधार्थः
नेपाल प्रेस काउन्सिल
संचारग्राम, काठमाडौं ।

 

*शीर्षक सच्याइएको

यस्तो थियो समाचारः 

पर्यटन बोर्डका निर्देशकको नक्कली प्रमाणपत्र, अख्तियारको पत्र बोर्डले लुकायो !

http://पर्यटन बोर्डका निर्देशकको नक्कली प्रमाणपत्र, अख्तियारको पत्र बोर्डले लुकायो ! https://gdpnepal.com/archives/26627

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह