Logo

मुख्य समाचार

एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको अडानले छलफल निष्कर्षविहिन


GDP नेपाल
   १० कार्तिक २०८०, शुक्रबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादकाबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । नवनिर्वाचित अध्यक्ष डा।बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ काठमाडौंमा भेटवार्ता भएको हो ।

भेटका क्रममा डा. केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन् । केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ । तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरु विकल्पमा सोच्न नसकिने भन्दै केसीले नयाँ विज्ञप्ति निकाल्नुपर्ने अड्डी कसेका छन् ।

केसीसँगको भेटपछि शर्माले भने, ‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुनर्निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरु विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु’ । उनले थपे, ‘२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढंगले कार्यक्रम गरेर मेरो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेका छौँ । एनआरएनएको माया उहाँमा छ भने पुनर्निर्वाचनका लागि उहाँ तयार हुनुपर्छ ।’

निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएको र मतदातामा पनि निर्वाचन पारदर्शी नभएको परेकोले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको केसी पक्षले दाबी गर्दै आएको छ ।

करिब ३० मिनेट लामो छलफलका क्रममा केसीले मिलेर जाने प्रस्ताव गरेपनि अहिलेको अवस्थामा मुल मुद्दा सम्बोधन नभएकाले शर्माले उनको प्रस्तावलाई अस्वीकार गरेको एनआरएनएका नेता डीबी क्षेत्रीले जानकारी दिए ।

शर्मासँग भेटका लागि केसी एक्लै पुग्दा उनका चुनावी कमाण्डर समेत रहेका क्षेत्री साथमा थिए ।

‘म र आरके शर्माले चुनावमा अनियमितता भयो, त्यसलाई सच्याएर जानु भनेको पुनर्निर्वाचन हो भन्ने कुरा उहाँसँग स्पष्ट राखेका छौँ’, क्षेत्रीले भने, ‘यद्यपि हामीहरुबीचमा कुनै समझदारी बन्न सकेन ।’

कात्तिक ३ गतेको (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए । तर, ४ गते केसी विजयी भएको घोषणा गरेर अध्यक्षको शपथ लिएका थिए ।

दुवै पक्षले गरेको सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिएपनि केसीले अध्यक्ष पदको शपथ लिएपछि शर्मा समूह चिढिएको हो ।

लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पुरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो । केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरु नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह