Logo

मुख्य समाचार

प्रतिस्पर्धाबाटै एनसेलको शेयर किनेको सतिशलाल आचार्यको दावी


gdpnepal
   २१ मंसिर २०८०, बिहिबार


काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरीद गरी पूर्ण स्वामित्व लिएका नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यले प्रतिस्पर्धाका आधारमा एनसेलको सेयर खरीद गरेको दावी गरेका छन् ।

स्पेक्ट्रलाइट यूके लिमिटेडका शेयरधनी सतिशलाल आचार्य नेपाली मूलका व्यवसायी हुन् ।

“आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो,” उनले भनेका छन्, “शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो ।”

उनका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ ।

यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने उनको दावी छ ।

एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको कम्पनीको दावी छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने जनाइएको छ ।

“यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं,” एनसेलले भनेको छ ।

एनसेलको स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुयाउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको पनि जनाएको छ । एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहेको तथा एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

“लाखौं नेपालीहरुको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार छ,” एनसेलले भनेको छ, “मोवाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरु प्रदान गर्न हामी हाम्रो नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने छौं र यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना हुनेछ ।”

एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदान पुयाउने कम्पनीको दावी छ ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह