Logo

अर्थनीति

भरतपुर महानगरमा भ्रमण वर्षको तयारी, मुख्य सडक नै अस्तव्यस्त


gdpnepal
   २१ मंसिर २०८०, बिहिबार


चितवन । भरतपुर महानगरपालिका भ्रमण वर्ष २०२४ को तयारीमा रहँदा शहरको मुख्य क्षेत्र नै अस्तव्यस्त देखिएको छ । महानगरपालिकाको कार्यालयसम्म यतिबेला सवारीसाधन लिएर जानसक्ने अवस्था छैन भने सडक धुलाम्ये छ ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी ठेकेदारको ढिलाइका कारण सडक निर्माण पूरा हुन नसक्दा आफूहरु नाजवाफ बनेको बताउँछन् ।

होटल संघ नेपालका प्रतिनिधिसँग सोमबार भएको छलफलमा उपप्रमुख अधिकारीले भने, “हामीले भ्रमण वर्षको तयारी गरिरहँदा मुख्य सडकको अवस्थाले गिज्याइरहेको छ, हामी चाँडोभन्दा चाँडो काम सक्न ठेकेदारलाई ताकेता गरिरहेका छौं ।”

उपप्रमुख अधिकारीका अनुसार भरतपुर भ्रमण वर्षमा ५ लाख आन्तरिक र २ लाख वाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

भरतपुर महानगरपालिकाले सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक भू–बनोट आदिका आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरूको प्रवद्र्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष मनाउन लागेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुरमा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक भ्रमण वर्षको अभियान सञ्चालन गर्ने भएको हो ।

महानगरले आगामी पुस १६ गते भ्रमण वर्ष उदघाटन गर्ने भएको छ । पर्यटकलाई आकर्षण र व्यवस्थापन गरी महानगरको लक्ष्यलाई साकार पार्न पर्यटन व्यवसायलगायत निजी क्षेत्रको ठूलो भूमिका रहेको उपप्रमुख अधिकारी बताउँछन् ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी

भरतपुर भ्रमण वर्षको लाभ केवल महानगरपालिकाको मात्र नभई समग्र मुुलुकको आर्थिक समृद्धिका लागि हुनाले निजी क्षेत्र, स्थानीय तहलगायत सबै पक्षको सहकार्य तथा समन्वयमा भ्रमण वर्षलाई सम्पन्न गरी यस क्षेत्रलाई पर्यटकीय सहरका रूपमा परिचित गराउन सकिनेमा उनको भनाइ छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले भरतपुर भ्रमण वर्षमा होटल व्यवसायीको साथ रहने उल्लेख गर्दै पर्यटकलाई सेवासुविधामा कुनै कमी हुन नदिने बताए ।

“हाम्रो क्षमताले भ्याएसम्म महानगरका साथमा रही भ्रमण वर्षलाई नमूनाका रुपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ, सबैको सहकार्य र समन्वयनमा चितवन आउने पर्यटकलाई गुणस्तरीय आतिथ्यता प्रदान गरी खान, बस्नका लागि कुनै कमी हुन दिने छैनौँ”, अध्यक्ष शाहले भने ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाह

अध्यक्ष शाहले काठमाडौं, पोखरा र लुम्बिनी सबैतिरबाट भरतपुर केन्द्रमा पर्ने भए पनि यहाँसम्म पुग्ने स्थलमार्गको दूरावस्थाले भ्रमण वर्ष प्रभावित हुने चिन्ता व्यक्त गरे ।

कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क सङ्ग्रहालय, विमानस्थल, हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका क्षेत्र रहेका छन् ।

महानगरपालिकाका पर्यटन सल्लाहकार सोम सापकोटाले भ्रमण वर्ष सफल बनाउन विदेशमा रहेका चितवनवासीलाई पनि परिचालन गरिने बताए ।

महानगरपालिकाका पर्यटन सल्लाहकार सोम सापकोटा

महानगरको यस भ्रमण वर्षको अभियानमा सङ्घीय सरकार, बागमती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध सरकारी एवं गैरसरकारी गरी विभिन्न सङ्घसंस्थाको सहयोग रहेको छ ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह