काठमाडौं । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाभित्र सूर्तिजन्य वस्तुको बिक्री वितरण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
महानगरले बुधबारदेखि लागू हुनेगरी काठमाडौं महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।
महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेका थियो ।
सुर्ती उत्पादकको मागमा उदार बन्दै न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महानगरको सूचनाले निवेदकहरूलाई अपुरणीय क्षति पुग्न सक्ने भन्दै यस्तो आदेश दिइएको देखिन्छ ।
यसअघि काठमाडौं महानगरको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर सूचना जारी गरेको थियो ।
जसमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै सूचनामा कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने भनिएको थियो ।
खाद्यान्न पसल, पान पसललगायत कुनै पनि पसलमा चुरोट, खैनी, गुट्खालगायत वस्तु बिक्री गर्न नपाइने तर होटल, रेस्टुरेन्टको हकमा भने ‘स्मोकिङ जोन’ छुट्याइनुपर्ने र त्यसबाहेक अन्यत्र बिक्रीवितरण तथा प्रयोग गर्न नपाइने महानगरको व्यवस्था थियो ।
प्रतिक्रिया