काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि पहिलोपटक खुलेको सेयर बजारमामा सकारात्मक प्रभाव देखिएको छ । बजार परिसूचक नेप्से २८ सय माथि उक्लेको छ भने कारोबार रकम पनि ११ अर्बभन्दा बढी रहेको छ ।
सेयर कारोबार हुने साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४९.१५ अंक बढेर २८१५.०४ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कूल ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँबराबरको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ ।
केन्द्रीय बैंकले बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानी बापत छुट्याउनु पर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरेको थियो ।
जसको सकारात्मक प्रभावले यस दिन नेप्से र कारोबार रकम दुबै बढ्न पुगेको बताइएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निरन्तर १३ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य ९४ रुपैयाँ ४० पैसा घटेर १ हजार ३८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७६ करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ४६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक प्रतिशत बढेको छ ।
प्रतिक्रिया