काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढेको छ । प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्नु स्वाभाविक भए पनि पार्टीभित्रैबाट पनि उनको राजीनामा माग्न थालिएको छ ।
पार्टीका नेता शेखर कोइरालाले शनिबार गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने अभिव्यक्ति दिएका छन् भने पार्टीभित्र उनकै शुभेच्छुकहरुले पनि राजीनामा गर्नु उपयुक्त हुने सुझाव दिइरहेका छन् ।
गृहमन्त्री लेखक भने राजीनामा गर्ने कि नगर्ने निर्णयमा पुगिसकेका छैनन् ।
भिजिट भिसा प्रकरणमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि प्रधानमन्त्री केपी ओलीले उनलाई पदबाट हटाउन सक्ने स्थिति छैन भने प्रतिपक्षी दलहरुले सदनमा दबाब बढाउँदै लगे सरकार अप्ठेरोमा पर्नसक्छ।
जानकारहरुका अनुसार गृहमन्त्री लेखक पनि पदमा बसिरहने पक्षमा छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन कुरिरहेका लेखक राजीनामा गरेर छानबीनमा सघाउने पक्षमा छन् ।
यता, गृहमन्त्री लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।
शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्बन्धी भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरेका हुन् ।
उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमुलक ढंगबाट झुट्टा प्रचारबाजी भैइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधयागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जिवनमा, मेरो राजनीतिक जिवनमा, यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु । अब यो बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधिसभामा बोल्ने छु ।’
लेखकले आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर उक्त विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए । उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे ।










प्रतिक्रिया